नेकपा (एकीकृत समाजवादी) को जारी दसौं महाधिवेशनअन्तर्गत् आजबाट नेतृत्व चयन प्रक्रिया सुरू हुँदैछ।
निर्वाचन समितिले बिहीबार बिहान ८ बजेबाट मनोनयन फारम बाँड्ने तयारी गरेको थियो।
अहिले केही बेरलाई रोकिएको प्रतिनिधि नरेश न्यौपानेले जानकारी दिए। अहिले बिहान १० बजे मतदाता नामावली निकाल्ने र साँझसम्म उम्मेदवारी दर्ता भइसक्ने अर्का प्रतिनिधिले जानकारी दिए। उनका अनुसार सहमतिको प्रयासका लागि निर्वाचन प्रक्रिया ढिलो सुरू गरिएको हो।
एकीकृत समाजवादीले २० पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने निर्णय यसअघि नै सचिवालय बैठकले गरिसकेको छ।
यसका अतिरिक्त ४५ वर्ष मुनि उमेर समूहकालाई २० प्रतिशत प्रतिनिधित्व गराइँदैछ।
बुधबार राजनीतिक, सांगठनिक, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको थियो। माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बोल्ने प्रायः प्रतिनिधिहरूले स्थानीय तह, संघ र प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनको मिहीन र वस्तुनिष्ठ समीक्षा हुन नसकेको सुझाव दिएका थिए। त्यस्तै एकीकृत समाजवादी गठबन्धनमा सामेल हुने र सत्तामा मात्रै सरिक हुने हुँदा मूल उद्देश्य नै त्यही देखिएको टिप्पणी गरेका थिए। सरकारमा जाँदा पनि त्यसको औचित्य पुष्टि गर्नुपर्ने उनीहरूको तर्क थियो।
‘अहिले पार्टीका नेताहरूको मन्त्री बन्ने, केही नियुक्ति लिने मात्रै ध्येय देखिन्छ। त्यही अभिष्ट पूरा गर्न मात्रै सरकारमा गएजस्तो देखिन्छ। सरकार, गठबन्धनतिर मात्रै ध्यान केन्द्रित हुँदा संगठन निर्माणले गति लिन सकेन भन्ने सुझाव पनि आयो,’ न्यौपानेले भने। त्यस्तै दस्तावेजमाथि बोल्ने अधिकांश प्रतिनिधिले युवाको उमेर समूह बढाइएको बारे पनि प्रश्न उठाएका थिए। विधान अधिवेशन, केन्द्रीय समितिले तय गरेको २५ देखि ४० वर्ष उमेर समूहका युवालाई प्रतिनिधित्व गराउने निर्णयलाई संशोधन गर्दै ४५ वर्ष उमेर पुर्याइएकोमा उनीहरूले असहमति प्रकट गरेका थिए।दस्तावेजमाथि बोल्ने १२ समूहका टोलीनेताले यस्तो धारणा राखेको न्यौपानेको भनाइ छ।
‘यो युवालाई नेतृत्वमा आउनबाट रोक्ने ध्येयले नै ल्याइएको प्रावधान हो भनेर धारणा राख्नुभयो,’ न्यौपानेले भने।
तीन नेता बसेर गरे सहमतिको प्रयास
पार्टीका महासचिव घनश्याम भूसालले अध्यक्षमा दाबी गरे पनि सहमतिको प्रयास भइरहेको सुदेश पराजुलीले जानकारी दिए।
उनकाअनुसार बुधबार राति महाधिवेशनको हल प्रज्ञा भवनमा तीन नेता, अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालबीच लामै संवाद भएको थियो।
अध्यक्ष नेपालले आफ्नो नेतृत्व मानेर जान आग्रह गरेका थिए। उनले भूसाललाई वरिष्ठ उपाध्यक्ष अथवा महासचिवमध्ये रोजेर लिन र सहमतिको वातावरण बनाउन आग्रह गरेको पराजुलीको भनाइ छ।
‘उहाँले एक रातको समय माग्नुभएको थियो। आज बिहान उहाँले निर्णय दिनुहोला,’ उनले भने।
भूसालले मान्नेबित्तिकै नेतृत्व चयन सहमतिउन्मुख हुने प्रतिनिधिको दाबी छ। केन्द्रीय सदस्यमा भने निर्वाचन नै हुनेछ। निर्वाचन प्रयोजनका लागि ५० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। प्रतिनिधिहरूले डेमोसमेत गरिसकेका छन्।
एकीकृत समाजवादीको दसौं महाधिवेशनले १ अध्यक्ष, १ सम्मानित नेता, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष १ महासचिव ५ सचिव र ५ उपमहासचिव निर्वाचित गर्नेछ।