काठमाडौं - आज राजीनामा दिने तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
रास्वपाका मन्त्रीहरूले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिनेबारेमा छलफल गरेका छन् ।
प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा दिने नदिने टुंगो लाग्नेछ । ‘राजीनामा पत्र बोकेर आएका छौं,’ एक मन्त्रीले भने, ‘अहिले प्रधानमन्त्रीसँग छलफलमै छौं ।’
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने आजै राजीनामा दिने बताएका छन् । त्यसअघि मन्त्रीहरूले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।
बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।
नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।
प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्ने तयारी गरेका छन् ।
सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।