सिड्नी – कुरा सन् २००८ को हो। राजकुमार गुरुङ नेपालबाट अष्ट्रेलियाको सिड्नी पुगे, विद्यार्थी भिसामा।
त्यहा उनको आफ्नो कोहि थिएन। त्यसैले उनको शुरुआतकालिन अवस्था निकै संघर्षपुर्ण रह्यो। आगामी गन्तव्य के होला भन्ने अन्यौलताविच अघि बढीरहेको गुरुङको जिन्दगी आफ्नो लगावकै बाटोमा अघि बढ्छ भन्ने सायदै उनले सोचेका थिए।
हो, गुरुङको क्रिकेटप्रतिको नै अहिले व्यवसायमा परिणत भएको छ। गुरुङ अष्ट्रेलीयामा क्रिकेट व्याट मर्मत र उत्पादनको व्यवसाय गर्ने पहिलो नेपाली हुन। गुरुङको भनाई सापटी लिएर भन्नुपर्दा उनको सफलताको यात्रा पनि एक पाईलाबाट नै शुरु भएको हो। उनको क्रिकेट व्याट मर्मतको यात्रा आफ्नै खाना खाने टेबलबाट शुरु भयो।
आफुँ बस्ने ठाँउबाटै उनले कामको सामान्य शुरुआत गरे। क्रिकेट व्याट मर्मत गर्ने सिप घरमै निखार्दै गर्दा उनले त्यसलाई व्यवसायिक रुप दिने सोचे र कम्पनी खोले। अनि शुरु भयो उनको व्यवसायिक यात्रा। कामप्रतिको लगाव, दृढ संकल्प र निरन्तरताका कारण उनी अहिले सफल व्यवसायी बनेका छन्।
गुरुङको लक्ष्य त क्रिकेटर बन्ने नै थियो। उनले सिड्नीमा पनि क्रिकेट खेले। विभिन्न क्लवमार्फत उनले आफ्नो खेलयात्रा जारी राखे। तर, सोचेजस्तो सबै कँहा हुन्छ र? परिस्थितीले उनलाई क्रिकेटर बन्न दिएन। तर क्रिकेटबाट भने उनी टाढा रहन सकेनन्। क्रिकेट खेलाडीबाट उनी क्रिकेट व्याटका व्यापारी बने।
गुरुङको कलाको बारेमा छिट्टै फैलियो। स्थानीय र राष्ट्रिय क्रिकेट खेलाडीहरूले ब्याट मर्मतको लागि उनलाई खोज्न थाले। उनको सेवाको माग अत्यधिक बढ्यो। २०२२ मा टी–२० विश्वकप खेल्न गएका यूएईका अन्तर्राष्ट्रिय खेलाडीले पनि ब्याट मर्मतका लागि उनलाई सम्पर्क गरे। जसले गुरुङको ख्याती झनै बढायो।
गुरुङ व्यवसाय विस्तारको योजनामा पनि छन्। यूकेबाट काठ र भारतबाट ह्याण्डल ल्याएर उनले आफ्नो ग्यारेजमा ब्याट निर्माणको काम गर्ने गर्दछन्। उनका ग्राहकहरूको संख्या बढ्दै जाँदा, गुरुङले आफ्नो व्यवसायलाई अझ विस्तार गर्ने अवसरहरू खोजिरहेका छन्।
अहिले गर्विलो आवाजमा गुरुङ भन्छन्, ‘‘अष्ट्रेलियाको नेपाली समुदायमा क्रिकेट व्याट मर्मत र निर्माण गर्ने पहिलो व्यक्तिको रुपमा चिनिन पाउँदा गर्व लाग्छ। ओशिनिया क्षेत्रको बारेमा मलाई थाहा छैन, तर हाम्रो समुदायको खेलप्रतिको लगावमा योगदान दिन पाउँदा खुसी छु।’’