काठमाडौं - युरो–२०२४ विजेता स्पेनले फिफा वरीयतामा पाँच स्थान सुधार गरेको छ।
फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार स्पेन पाँच स्थान उक्लिँदै तेस्रो नम्बरमा पुगेको छ। स्पेन यसअघि वरीयताको आठौँ स्थानमा थियो।
युरो–२०२४ मा लगातार सात खेलमा विजयी हुँदै स्पेनले उपाधि उचालेको थियो। त्यही प्रदर्शनका कारण स्पेनले फिफा वरीयतामा पाँच स्थान सुधार गरेको हो।
वरीयताको शीर्ष स्थानमा भने विश्वकप विजेता अर्जेन्टिना यथावत् छ। अर्जेन्टिनाले अमेरिकामा आयोजित कोपा अमेरिका–२०२४ को फाइनलमा कोलम्बियालाई १–० ले हराउँदै लगातार दोस्रोपटक उपाधि जितेको थियो।
वरीयताको दोस्रो स्थानमा फ्रान्स पनि यथावत् छ । इंग्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड यसअघि पाँचौँ स्थानमा थियो।
वरीयताको पाँचौँ स्थानमा ब्राजिल छ । ब्राजिल एक स्थान खस्कँदै पाँचौँमा झरेको हो। छैटौँ स्थानमा बेल्जियम छ। बेल्जियम पनि तीन स्थान घटुवामा परेको हो। सातौँमा नेदरल्यान्ड्स, आठौँमा पोर्चुगल, नवौँमा कोलम्बिया र १०औँ स्थानमा इटाली छन्।