काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु सरकारमा गएपछि देश कसले चलाएको रहेछ भन्ने थाहा पाएको बताएका छन्।
बिहिबार पार्टीको नीति मन्थन कार्यायक्रमपछि बोल्दै सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएर धेरै विषयको अनुभव लिएको बताएका छन्।
‘पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदा खेरी गल्ती खानेबाहेक केही काम भएको रहेनछ । हामीलाई त केही सिक्नु थियो, केही गर्नु थियो, हेर्नु थियो। सिंहदरबार कसरी चलाउने भन्ने जान्नका लागि सिंहदरबार कसरी चल्छ भन्नै हेर्नैपर्छ। त्यही हेर्न जति गाली खाएर भएपनि जसरी पनि सरकारमा जानु नै थियो।’, लामिछानेले भने, ‘पहिलो पटक पर्याप्त थिएन । ३४ दिन म मन्त्री भएँ अरु साथीहरु २२/२४ दिन मन्त्री बन्नुभयो। अहिले जुन ४ महिनाको अवधि हामीले सरकारमा बस्यौँ। यो अवधिले अब चाहीँ हामीलाई धेरैकुरा बुझ्न सहयोग मिलेको छ। अब पद र गोपनियताको सपथ खाएका छौँ। सबैकुरा सार्वजनिक गर्न त मिल्दैन। तर देश कसले चलाएको रहेछ भन्ने राम्रो हिन्ट हामीले पाएका छौँ।'
त्यस्तै उनले आफूहरुले ४ महिना सरकार चलाएर देशलाई केही घाटा नलगाएको बरु ४ जना भष्ट्रहरुलाई रोक्यौँ कि भन्ने लागेको बताएका छन्। ‘हामीले यो समय लिएर अनुभव लिँदा राज्य घाटा लगाएका छैनौँ है।’, उनले थपे, ‘बरु ४ वटा मन्त्रालय लिएर ४ वटा भ्रष्टहरुलाई रोक्यौँ कि भन्ने लागेको छ हामीलाई।’