पोखरा – गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गरेका छन्।
शुक्रबार कारागारमै पुगेर उनले बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा बुझेका हुन्। डेंगी लगायत विभिन्न रोग लागेर बिरामी भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको मन्त्री थापाले बताए।
“कास्की कारागारको आज निरिक्षण गरेको छु। बिरामी भएका ९२ जना कैदीबन्दीहरुको स्वास्थ्यमा विस्तारै सुधार आएको रहेछ । उहाँहरुलाई आवश्यक पर्ने औषधि लगायत पोसिलो आहारको समेत व्यवस्था गरिएको छ।”, उनले भने। मन्त्री थापाले कारागारमा देखिएको खानेपानी लगायतका अन्य समस्याका विषयमा समेत जानकारी लिएको बताए।
कारागारमा भएका समस्यालाई समाधान गर्न आफु लाग्ने प्रतिबद्धता समेत उनको छ। कास्की कारागार पहिले भन्दा व्यवस्थित भएको उनले बताए। “कारागार पहिले भन्दा व्यवस्थित रहेछ । सरसफाईमा समेत ध्यान दिएको पाए। आवश्यक सामान बिक्रीमा कारागार भित्र हुने गरेको मुल्यवृद्धिमा समेत ध्यान दिन निर्देशन दिएको छु।”, उनले भने।
कैदीबन्दीहरुले प्रेसर, सुगर लगायतको नियमित खाइरहने औषधि निशुल्क उपलब्ध गराउन माग गरेको र त्यस विषयमा स्वास्थ्य मन्त्रालयका सचिवलाई समेत निर्देशन गराइसकिएको उनले बताए। कास्की कारागारमा अहिले ७८३ जना कैदीबन्दी रहेका छन्।