दिल्ली क्यापिटल्सका प्रमुख खेलाडी ऋषभ पंतले टिम छोड्न सक्ने खबरले आइपिएल प्रशंसकहरूमा हलचल मच्चाएको छ।
रिपोर्टअनुसार पंतले मेगा अक्सनअघि दिल्ली क्यापिटल्स छोडेर चेन्नई सुपर किंग्ससँग जोडिन सक्ने सम्भावना छ। भारतिय सञ्चारमाध्यमहरुका अनुसार दिल्ली क्यापिटल्स पंतसँग खुशी छैन।
चोटबाट फर्केपछि पंतले आइपिएल २०२४ को दौरान दिल्लीको कप्तानी गरेका थिए। तर, फ्रेंचाइजीले उनलाई रिटेन गर्ने विषयमा अझै सोच–विचार गरिरहेको छ। रिपोर्ट अनुसार, फ्रेंचाइजीले पंतलाई ट्रेड गर्न पनि सक्छ। तर, दिल्लीका क्रिकेट निर्देशक सौरव गांगुली पंतलाई मन पराउँछन् र उनलाई कप्तानका रूपमा अगाडि बढाउन चाहन्छन्।
यदि दिल्लीले पंतलाई रिलीज गर्छ भने २६ वर्षीय पंत चेन्नई सुपर किंग्समा जान सक्नेछन्। पंतले हालै सम्पन्न टि–ट्वान्टी विश्वकपमा सबै खेल खेलेका थिए र नम्बर तीनमा ब्याटिङ गर्दै ठिकठाक प्रदर्शन गरेका थिए। सिएकेका अधिकारीले दिएको संकेतअनुसार उनीहरू एक शीर्ष भारतीय विकेटकीपरलाई भित्र्याउन चाहन्छन्।
महेन्द्र सिंह धोनीले यदि आइपिएलबाट सन्यास लिन्छन् भने, पंतले उनको स्थान लिन सक्नेछन्। ४३ वर्षीय धोनीले आइपिएलमा सबैभन्दा धेरै खेल खेलेका छन् र आइपिएल २०२५ मा उनले खेल्ने सम्भावना निकै कम छ। रिपोर्ट अनुसार, चेन्नईले केएल राहुललाई पनि साइन गर्न सक्ने चर्चा छ।
३२ वर्षीय राहुलको लखनऊ सुपरजायन्ट्सबाट छुट्टिने खबर पनि बजारमा चर्चामा छ। गत सिजन सनराइजर्स हैदराबादविरुद्धको हारपछि लखनऊका मालिक संजीव गोयनकाले मैदानमै राहुलको आलोचना गरेका थिए। यसको भिडियो निकै भाइरल भएको थियो।
राहुल तीन वर्षदेखि लखनऊसँग छन्। लखनऊले उनलाई १७ करोडमा खरिद गरेको थियो। राहुल कर्नाटकका भएकाले रोयल च्यालेन्जर्स बैंगलोरले पनि उनलाई साइन गर्ने प्रयास गर्न सक्नेछ। उनले यसअघि पनि यो फ्रेंचाइजबाट खेलेका छन्। उनले यसअघि पनि त्यहाँ खेल्ने इच्छा व्यक्त गरेका छन्। आइपिएल द्दण्द्दद्ध मा च्ऋद्य ले फाफ डु प्लेसीको कप्तानीमा प्ले–अफसम्म खेलेका थिए। तर, अब उनीहरूले भारतीय कप्तान खोजिरहेको चर्चा छ।
यदि आरसिबीले ले राहुललाई साइन गर्न सफल भयो भने उनलाई कप्तानी सुम्पिने सम्भावना छ। राहुलले क्रिकेटका तीनै फर्म्याटमा भारतको नेतृत्व गरिसकेका छन् र उनको अनुभवको फाइदा टिमलाई मिल्न सक्नेछ।