काठमाडौं । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत फुटबलका खेलहरू भोलिदेखि नै सुरु हुँदैछ ।
३३औं गृष्मकालीन ओलम्पिकको उद्घाटन जुलाई अर्थात आउने शुक्रबार हुने भए पनि फुटबललगायत केही खेलहरू भने त्यसअघि नै सुरु हुनेछन् । भोलिदेखि फुटबल र रग्बी सेभेन्सका खेलहरू सुरु हुनेछन् भने बिहीबार आर्चरी र ह्यान्डबलको प्रतिस्पर्धा सुरु हुनेछ ।
पुरुष फुटबलअन्तर्गत पहिलो खेल अर्जेन्टिना र मोरक्कोबीच हुनेछ । समूह बी मा रहेका यी दुई टोलीबीचको खेल सेन्ट एटिएनमा नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ । यस्तै समूह बी मै रहेका इराक र युक्रेनबीचको खेल भोलि लियोनमा हुनेछ ।
समूह ए अन्तर्गत आयोजक फ्रान्सले बुधबार आफ्नो पहिलो खेलमा अमेरिकासँग खेल्नेछ र गिनी र न्युजिल्याण्डबीचको खेल पनि आजै हुनेछ ।
यसैगरी समूह सी अन्तर्गत उज्वेकिस्तान र स्पेन तथा इजिप्ट र डोमिनिक रिपब्लिक तथा समूह डी अन्तर्गत जापान र पाराग्वे तथा मालि र इजरायलबीचको खेल पनि बुधबार सुरु हुनेछ ।
महिला फुटबलका खेलहरू भने बिहीबारदेखि सुरु हुनेछन् ।
पेरिस ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टोली मात्र सहभागी छन् । पुरुषतर्फ चार समूह र महिलातर्फ तीन समूहमा विभाजन गरेर खेलाइनेछ ।
यसअघि २०२१ मा जापानमा भएको टोकियो ओलम्पिकमा स्वर्ण जितेको ब्राजिल भने यसपटक ओलम्पिकमा छनोट हुन सकेन ।
यसपटक अर्जेन्टिना र स्पेन पुरुष फुटबलमा स्वर्णको मुख्य दाबेदारको रुपमा छन् ।
अर्जेन्टिनाले केही समयअघि कोपा अमेरिका र स्पेनले युरोकपको उपाधि जितेको थियो । तर, ओलम्पिकमा भने यु–२३ टिमले प्रतिस्पर्धा गर्नेछ जसमा २३ वर्षमाथिका ३ खेलाडी मात्र हुनेछन् ।
विश्वकप तथा कोपा अमेरिकाको उपाधि जितिसकेका युवा स्टार जुलियन अल्भारेज अर्जेन्टिनाको ओलम्पिक खेल्ने टिममा छन् । यस्तै स्पेनमा फर्मिन लोपेज, एरिक गार्सिया, एलेक्स बाएना जस्ता खेलाडी छन् ।
घरेलु टोली फ्रान्स स्ट्राइकर लाकाजेटको कप्तानीमा खेल्दैछ । सिनियर टिमका कप्तान केलिएन एमबाप्पे भने पेरिस ओलम्पिकमा खेल्ने छैनन् । नयाँ क्लब रियल मड्रिडले आफ्नो क्लबका खेलाडीलाई ओलम्पिकमा सहभागी हुन नदिने बताएपछि एमबाप्पेले घरेलु मैदान ओलम्पिक खेल्ने अवसर पाएनन् ।