पर्सा – वीरगञ्जमा अस्पताल व्यवस्थापन समितीका अध्यक्षले अस्पतालकी महिला कर्मचारीलाई मानसिक यातना दिएको घटना प्रकाशमा आएको छ।
वीरगंजस्थित नारायणी अस्पतालअध्यक्ष धिरज कुमार गुप्तामाथि अस्पतालमा कार्यरत स्टाफ नर्सलाई मानसिक यातना दिनुका साथै अभद्र व्यवहार गरेको आरोप लागेको हो। अध्यक्ष गुप्तामाथि यस्तो आरोप लगाउने स्टाफ नर्स आईसीयूमा कार्यरत रहेकी छन्।
उनले अध्यक्ष गुप्ताले पटक–पटक फोनमार्फत धम्की दिने, अभद्र व्यवहार गर्ने, मानसिक यातना दिनेजस्ता कार्य गरेको भन्दै नारायणी अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) समक्ष उजुरी गरेकी छन्। जिल्ला प्रशासन कार्या, जिल्ला प्रहरी कार्यालय, अस्पताल प्रमुख र नर्सिङ प्रमुख समेतलाई बोधार्थ गरिएको छ।
अध्यक्ष गुप्ताले ड्यूटीको समयमा राती ११ः००, ११ः०९, ११ः३२ र ११ः४६ बजे फोन गरेर धम्की दिएको, कुनै काम परेको वा असन्तुष्टि भएको खण्डमा मेट्रोन वा नर्सिङ ईन्चार्जमार्फत आउनुपर्नेमा सिधैँ अभद्र शैलीमा सम्पर्क गर्ने गरेकोलगायतका आरोप उजुरी पत्रमा उल्लेख छ।
‘‘मेरो घरको आर्थिक अवस्था कमजोर रहेकोले काम गर्दै पढ्नुपर्ने भएकोले ड्यूटीमा असर नपर्नेगरी मेट्रोनलाई जानकारी गराएर पढ्ने गरेको छु,’’ उजुरीमा लेखिएको छ। अध्यक्ष धिरज कुमार गुप्ताले राती ड्यूटीकै बेलामा फोन गरेर ड्यूटीको समयमा पढ्ने अधिकार कसले दियो? भन्दै धम्की दिएको उल्लेख गर्दै उनले यसका कारण आफ्नो मानसिक स्वास्थ्यमा असर पर्नुका साथै काम समेत राम्रोसँग गर्न नसकेको उनको उजरीमा उल्लेख छ।
श्रोतका अनुसार यस घटनाका सम्बन्धमा हालसम्म कुनै पनि कारवाही अघि बढेको छैन। अध्यक्ष गुप्ता नेपाली काँग्रेससँग आवद्द छन्।