हेटौंडा - बागमती प्रदेशमा कांग्रेसका नवनियुक्त चार मन्त्रीको शपथ स्थगित भएको छ।
कांग्रेसमा मन्त्री नियुक्तिको आन्तरिक विवाद र नेकपा एमालेको असहमतिले साँझ सवा ५ बजेलाई तय भएको मन्त्रीहरूको शपथ स्थगित भएको मुख्यमन्त्री बहादुरसिं लामाले जानकारी दिए।
मुख्यमन्त्री लामाले आजै मन्त्रिपरिषद् विस्तार गरेका थिए। उनले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन्।
कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी मन्त्री भएका छन् । प्रभातलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र बिमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
बुधबार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठले भने मन्त्रालय पाएका छैनन्।