बुटवल - रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ।
रेशम पक्षले बुधबार नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै प्रदेश सभामा पेस गरेको निवेदनलाई प्रदेश सभाले मान्यता नदिएपछि दल नेता फेर्ने निर्णय असफल भएको हो।
रेशम पक्षले राजकुमार चौधरी दलको नेता चयन भएको पत्र सभामुखलाई बुझाएको थियो। तर प्रदेश सभाले बिहीबार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै कायम छन्। प्रदेश सभामा दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य छन्।
संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक फेर्ने निर्णय गरेर प्रदेश सभा सदस्य राजकुमार चौधरीले आफूलाई संसदीय दलको नेता तोकेर निवेदन पेश गरेका थिए । तर, त्यो निवेदनलाई प्रदेश सभाले मान्यता दिएन। सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभामा प्राप्त भएको निवेदन र निर्णयहरुलाई अध्ययन गर्दा शंकास्पद भएको भन्दै मान्यता नदिएको बताए।
संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरणसहितको पत्र गत ७ गते प्रदेश सभामा पेश गरिएको थियो। बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको उल्लेख थियो।