पोखरा - पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजित एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।
यो कार्यक्रम भदौ १० गते कृष्ण अष्टमीसम्म सञ्चालन हुनेछ। श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालका अनुसार, तेश्रो दिनसम्मै उल्लेखनीय भक्तजनहरूको सहभागिता रहेको छ।
यो प्रवचन कार्यक्रम श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराजद्वारा सञ्चालन भइरहेको छ। ढकालले भक्तजनहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिएका छन्। शनिवारको समारोहमा पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राममोहन आचार्यले पनि सहभागीता जनाएका थिए। उनले श्रीकृष्ण प्रणामी मन्दिरलाई हिन्दू धर्मावलम्बीहरूको केन्द्रविन्दु भने र मन्दिरमा जग्गा अभावका कारण योग तथा ध्यान शिविरका लागि स्थान नभएको बताए। उनले वडा नं ७ को तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए।
जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा तुलसी स्वरुप महाराज प्रवचन गर्दैछन् भने लिलाम्बर सापकोटा उपवाचकका रूपमा छन्। भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तबलामा सुजन बन्जराले भक्तजनहरूलाई भजनमार्फत मनोरञ्जन प्रदान गरिरहेका छन्।
यसैबीच, श्रीकृष्ण प्रणामी जिल्ला युवा परिषद्को २० औँ साधारण सभा तथा सातौं अधिवेशन शनिवार सम्पन्न भयो। अधिवेशनबाट तोयनाथ सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। जसमा निवर्तमान अध्यक्ष विजय शर्मा, उपाध्यक्ष शिशिर ठकुरी, सचिव उमेश बजगाइँ, कोषाध्यक्ष परिवेश रेग्मी, सहसचिव असिम ढकाल, र सहकोषाध्यक्ष राज बराल चयन भएका छन्। सदस्यहरूमा विराज बराल, गंगा प्रसाद न्यौपाने, र मध्यमा खतिवडा रहेका छन्।
श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालको संयोजन तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी र जिल्ला अध्यक्ष लिलाम्बर सापकोटा सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको थियो। नयाँ कार्यसमितिलाई श्रीकृष्ण मन्दिर सञ्चालक समितिका अध्यक्ष मोहन ढकाल, निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, युवा परिषदका निवर्तमान अध्यक्ष डाक्टर दयाराज ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए।
यो कार्यक्रम दैनिक ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ र पोखरामा रहेका जो कोहीले पनि उक्त कार्यक्रममा सहभागीता जनाउन सक्ने श्रीकृष्ण प्रणामी मन्दिर सञ्चालक समितिका अध्यक्ष मोहन ढकालले बताए।