पोखरा - नबिल बैंकको ४०औं वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशको पोखरामा 'नबिल दिगो पाइला' वाकाथन कार्यक्रम सम्पन्न भएको छ।
बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले आयोजना गरेको यस कार्यक्रम शनिबार बिहान सम्पन्न भएको हो।कार्यक्रमको उद्घाटन गर्दै बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकालले नबिल बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धता जनाउन वाकाथनमार्फत ऐक्यबद्धता जनाइएको बताए।
वाकाथन कार्यक्रम शनिबार बिहान नबिल बैंकको लेकसाइड शाखाबाट सुरु भई वाराही मन्दिर गेट, फेवा फुट ट्रयाक हुँदै विभिन्न ठाउँ परिक्रमा गरी पुनः लेकसाइड शाखामा पुगेर समापन भएको थियो। कार्यक्रममा पोखरास्थित बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
यसै अवसरमा बैंकले प्रधान कार्यालय काठमाडौंसहित देशभरका विभिन्न शाखाहरुमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो। नबिल बैंकले हाल देशभर २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।