पोखरा - गण्डकी प्रदेशमा आइतबार कुनैपनि सार्वजनिक सवारी साधन (कालो प्लेट) सडकमा नचलाउने निर्णय यातायात व्यवसायीले गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी गण्डकी सरकारले कार्यविधि बनाउन लागेको भन्दै तत्काल खारेज गर्न ४८ घण्टे अल्टिमेटम दिएको थियो। उक्त म्याद सकिएपछि गण्डकी प्रदेश सरकारले व्यवसायीको पक्षमा कुनै निर्णय नगरेको भन्दै आइतबार यात्रुबहाक र मालवहाक सवारी साधन घर तथा ग्यारेजमा थन्काउने निर्णय गरेको महासंघका सचिव योगेन्द्र बहादुर केसीले बताए।
‘हामीले ४८ घण्टे अल्टिमेटम दिएका थियौं, यो सरकारले हाम्रो मागलाई कुनै ध्यान दिएन। त्यसैले आज हामीले सार्वजनिक सवारी साधन ठप्प गर्ने निर्णय गरेका हौँ,’ केसीले भने। 'यदि आज केही सकारात्मक जवाफ आएन भने प्रदेशदेखि देशभर नै अनिश्चितकालिन रूपमा गाडीहरू घर र ग्यारेजमा थन्काउँछौं।'
महासंघको मुख्य माग निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न दिने कार्यविधिलाई तत्काल खारेज गर्नुपर्छ भन्ने हो।
यस्तै, यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्न, र सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरूको माग छ।
