पोखरा–आन्दोलनमा रहेको यातायात व्यवसायीले आज पोखरामा सार्वजनिक सवारी साधन (कालो नम्बर प्लेटका बस तथा मालवहाक ट्रक) ठप्प पारेका छन्।
गण्डकी सरकारलाई दिएको ४८ घण्टे अल्टिमेटमलाई बेवास्ता गरेको भन्दै आजदेखि सार्वजनिक सवारी साधन घर र ग्यारेजमा थन्काएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिका सचिव योगेन्द्र बहादुर केसीले जानकारी दिए।
उनका अनुसार निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी गण्डकी सरकारले कार्यविधि बनाउन लागेको भन्दै तत्काल खारेज गर्न ४८ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाइएको थियो।
उक्त म्याद सकिएको भन्दै यातायात व्यवसायीहरू आजदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रेका हुन्।
‘हामीले ४८ घण्टे अल्टिमेटम दिएका थियौं, यो सरकारले हाम्रो मागलाई कुनै ध्यान दिएन। त्यसैले आज हामीले सार्वजनिक सवारी साधन ठप्प गरेका हौं,’ केसीले सुनगाभा न्यूजसँग भने, ‘भरे बेलुकासम्म केही सकरात्मक जवाफ आएन भने प्रदेशदेखि देशभर नै अनिश्चितकालीन आन्दोलनमा उत्रन्छौं।’