काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन कानुनलाई नमिल्दो भन्दै त्यसको संशोधनको आवश्यकता रहेको बताएका छन्।
दाङमा आयोजित पत्रकार भेटघाटमा पोखरेलले लोकतन्त्रलाई बलियो बनाउन यस्ता कानुनहरूमा सुधार गर्नुपर्ने तर्क गरेका छन्। उनले भने, "डेढ प्रतिशत भोट ल्यायो भने प्रादेशिक पार्टी हुन्छ, तीन प्रतिशत भोट ल्यायो भने राष्ट्रिय पार्टी भइहाल्छ। तर, हाम्रै निर्वाचन कानुनले व्यक्तिका हकमा १० प्रतिशत भोट ल्याएन भने जमानत जफत हुन्छ। मिलेको छ त?"
महासचिव पोखरेलका अनुसार, यस्ता कानुनलाई सुधार्ने प्रयास गर्दा साना पार्टीहरूले विरोध गर्न सक्ने सम्भावना रहेको छ। तर, लोकतन्त्रलाई सही बाटोमा लैजानका लागि जनताको भावना बुझ्न र तदनुरूप कदम चाल्न आवश्यक भएको उनले बताए।
पोखरेलले कांग्रेस र एमालेबीचको गठबन्धनलाई लोकतन्त्रको स्थायित्वका लागि जिम्मेवार दलहरूको सहकार्यको रुपमा वर्णन गरे। "दलहरू बलिया हुनुपर्छ, तबमात्र लोकतन्त्र बलियो हुनसक्छ भन्ने मान्यतालाई स्थापित गर्न प्रमुख दुई दलहरू मिलेका छन्," उनले थपे।