१५ साउन, काठमाडौं – जुवातास खेलेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको संयुक्त टोलीले काठमाडौंको चुनदेवीस्थित यमकुमारी आलेको घरमा जुवा खेलिरहेको अवस्थामा ती ९ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्ने व्यक्तिहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाडौंकै ४५ वर्षीय राजेश श्रेष्ठ, बूढानीलकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन, र काठमाडौं डल्लुका ५२ वर्षीय प्रकाश शाही समावेश छन्।
प्रहरीका अनुसार, उक्त घरमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूसँग १० लाख ११ हजार रुपैयाँ बरामद गरिएको छ। साथै, जुवा खेल्न प्रयोग भएको १३ वटा ओखर पनि प्रहरीले बरामद गरेको छ।
प्रहरीको एसपी र प्रवक्ता नवराज अधिकारीले घटनाबारे जानकारी दिंदै भने, “जुवा तास खेल्ने गतिविधि कानूनी रूपमा प्रतिबन्धित छ। यस घटनामा संलग्न सबैलाई कानूनी कारवाही अघि बढाइनेछ।”