काठमाडौं – बलिउड अभिनेता शाहरुख खानलाई गत मे २१ मा भारतको अहमदाबादमा आयोजित आइपीएलको क्रममा हिट-स्ट्रोक भएपछि अस्पताल भर्ना गरिएको थियो।
अस्पतालमा उपचारपछि भोलिपल्ट डिस्चार्ज भएका शाहरुख अहिले पुनः स्वास्थ्य समस्याबाट पीडित भएका छन्।बलिउड हंगामको रिपोर्टअनुसार, अभिनेता शाहरुखको आँखामा समस्या देखिएको छ। उनले जुलाई २९ मा मुम्बईको एक अस्पतालमा आँखाको सर्जरीका लागि पुगेका थिए, तर योजनाअनुसार सर्जरी हुन सकेन।
स्रोतले जनाएको छ कि सुपरस्टारको आँखामा पुगेको क्षतिलाई कम गर्न र थप उपचारका लागि उनलाई अमेरिका लगिनेछ। उनी मंगलबार अमेरिका उड्ने तयारीमा छन्।
स्रोतले शाहरुखको आँखामा कस्तो समस्या भएको हो भन्ने खुलाएको छैन, तर केही भारतीय संचारमाध्यमले उनको आँखामा मोतियाबिन्दु भएको हुनसक्ने खबर दिएका छन्। पछिल्लो समय शाहरुखको आँखामा समस्या आएको यो दोस्रो पटक हो।
गत साता अभिनेत्री जस्मिन भासिनले पनि लेन्स लगाएपछि आँखामा समस्या देखिएको थियो। दुबै आँखामा पट्टी बाँधेको अभिनेत्रीको तस्वीर भाइरल बनेको थियो।
अभिनेता शाहरुख खान पछिल्लो पटक फिल्म ‘डंकी’मा देखिएका थिए। उनी छोरी सुहानाको डेब्यु फिल्म ‘किङ’मा पनि देखिनेछन्। छोरा आर्यनको डेब्यु फिल्मको लागि पनि शाहरुखले तयारी गरिरहेको पिंकभिल्लाले जनाएको छ।