काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र त्यसको भूमिगत पार्किङ संघीय सरकार मातहत सञ्चालन गर्नुपर्ने बताएका छन्।
उनले सोमबार मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै काठमाडौं महानगरपालिकाले आफ्नो हक लाग्ने दाबी गर्दै आएको धरहरा र भूमिगत पार्किङ क्षेत्र संघीय सरकारले नै सञ्चालन गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले धरहराको पुनर्निर्माण सम्पन्न भएको र ११ वैशाख २०७८ मा २२ तले धरहराको उद्घाटन गरिएको स्मरण गराउँदै निर्माणाधीन अवस्थामा नै पार्किङ महानगरपालिकाले खुला गरेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, "धरहरालाई सञ्चालन गरिहाल्ने, त्यसलाई कसरी आम्दानीको स्रोत बनाउनुपर्छ, मनोरञ्जन पनि हुन्छ।"
ओलीले धरहरालाई व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशन दिँदै भने, "मै बनाउँछु मेरो धरहरा’ अभियान अन्तर्गत ३६ करोड रुपैयाँ संकलन गरिएको छ, जसमा मकै पोलेको पैसा र साग बेचेको पैसा पनि रहेको छ। त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गरौं, त्यहाँ लिफ्ट किन खिया लागेर बस्न दिने? युवाहरुका लागि भर्याङ पनि छ। धरहराबाट काठमाडौं कम्ता मनमोहक देखिंदैन, किन सञ्चालन नगर्ने?"
प्रधानमन्त्री ओलीले धरहरालाई पर्यटन र आम्दानीको स्रोत बनाउनुपर्नेमा जोड दिँदै कमलादीमा युवा व्यवसायीले बनाएको ‘स्काइ वाक टावर’ले वर्षमा २२ करोड कमाएको उदाहरण दिए। उनले धरहरा पनि सरकारका लागि महत्वपूर्ण आयस्रोत बन्नसक्ने बताए।
धरहरा चढ्न खुला गर्नुपर्नेमा जोड दिँदै ओलीले भूमिगत पार्किङको सञ्चालन र व्यवस्थापन संघीय सरकार मातहत राख्नुपर्ने कुरामा बल दिए।