पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्सको माध्यमबाट ग्रामीण क्षेत्रका साना किसानहरूले उत्पादन गरेका ताजा तरकारी उपभोक्तासम्म पुर्याउन थालेपछि उपभोक्ताहरूमा खुसी छाएको छ।
माछापुच्छ्रे टोलकी आस्था गिरीले कृषि एम्बुलेन्सबाट ल्याइएको ताजा तरकारी छानीछानी किन्ने मौका पाउँदा खुशी व्यक्त गरिन्। पोखरा महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र उपभोक्तालाई ताजा तथा विषादीरहित तरकारी उपलब्ध गराउन विभिन्न वडामा किसान बजार सञ्चालनमा ल्याएको छ।
महाशाखा प्रमुख मनहर कडरियाका अनुसार, महानगरका सात ठाउँमा सातामा एक दिन किसान बजार सञ्चालन हुने गरेकामा माग बढ्दै गएकाले केही वडामा सातामा दुई दिनसम्म बजार सञ्चालन गरिएको छ।
ग्रामीण क्षेत्रका साना किसानहरूले उत्पादन गरेका कृषि उपज सङ्कलन गर्न महानगरले २१ स्थानमा सङ्कलन केन्द्र स्थापना गरेको छ, जहाँबाट कृषि एम्बुलेन्सले ती उपजलाई बजारमा पुर्याउँछ।
महानगरले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ताबीचको दूरी कम गर्दै उपभोक्तालाई ताजा, स्वस्थ र विषादीरहित तरकारी उपलब्ध गराउने काम गरिरहेको छ। चिस्यान सुविधासहितको एम्बुलेन्सले तरकारीको क्षति कम गर्दै उत्पादकदेखि उपभोक्तासम्म एकदेखि दुई घण्टामा नै पुर्याउने सुविधा दिएको छ।
यसले कृषि उपजको क्षति कम गर्ने, बजार केन्द्रसम्म सुरक्षित रूपमा पुर्याउने, बिचौलियापनको अन्त्य गर्ने, किसानलाई बजारसम्म पुर्याउनको तनाव हटाउने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको छ।