१६ साउन, काठमाडौं - पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। आयोजक फ्रान्स शतप्रतिशत जितसहित क्वाटरफाइनलमा प्रवेश गर्दा स्वर्ण दाबेदारहरू अर्जेन्टिना र स्पेन पनि अन्तिम आठमा पुगेका छन्। एसियाली राष्ट्र जापानले पनि समूह चरणमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको छ।
समूह ए बाट आयोजक फ्रान्ससँगै अमेरिका, समूह बी बाट मोरक्को र अर्जेन्टिना, समूह सी बाट इजिप्ट र स्पेन तथा समूह डी बाट जापान र पाराग्वेले अन्तिम आठमा स्थान बनाएका छन्।
गएराति भएको खेलमा फ्रान्सले न्युजिल्याण्डलाई ३-० ले हराएर समूह ए को विजेता बन्यो। फ्रान्सले ३ खेलबाट ९ अंक जोड्यो। यस्तै, गिनीलाई ३-० ले हराएर अमेरिका समूह ए को उपविजेता बन्दै नकआउट चरण पुगेको हो।
समूह बी मा अर्जेन्टिनाले युक्रेनलाई २-० ले हराउँदै समूह उपविजेता बन्यो। अर्को खेलमा इराकलाई ३-० ले पराजित गरेको मोरक्को समूह बी को विजेता बन्यो। अर्जेन्टिना पहिलो खेलमा मोरक्कोसँग पराजित भएपनि त्यसपछि लगातार दुई खेल जित्दै नकआउट चरण पुगेको हो। दुवैको समान ६ अंक भए पनि मोरक्को हेड टु हेडमा अघि रहेको हो।
यस्तै, समूह सी मा यसअघि नै क्वारफाइनल पुगिसकेको स्पेनलाई २-१ ले पराजित गर्दै इजिप्ट समूह विजेता बन्यो। इजिप्टले ३ खेलबाट ७ अंक जोड्दा स्पेनले ६ अंक जोड्यो।
समूह डी मा जापानले इजरायललाई १-० ले हराएर शतप्रतिशत जित निकाल्यो। ३ खेलबाट ९ अंक जोडेर जापान समूह विजेता बन्यो। मालीलाई १-० ले पराजित गर्दै पाराग्वे ६ अंक जोडेर समूह उपविजेता बनेको हो।
अब क्वाटरफाइनलमा फ्रान्स र अर्जेन्टिनाबीच भिडन्त हुनेछ भने अमेरिकाले मोरक्कोसँग खेल्नेछ। यस्तै, इजिप्टले पाराग्वेसँग खेल्दा जापान र स्पेनबीच भिडन्त हुनेछ।
क्वाटरफाइनल खेल अगष्ट २ मा हुनेछ। सेमिफाइनल अगष्ट ५ मा हुनेछ भने फाइनल खेल अगष्ट ९ मा हुनेछ।