काठमाडौं – सेयर बजारमा लगानी गर्दा धेरै लगानीकर्ताले सामान्य तर महत्त्वपूर्ण गल्ती गर्ने गरेका छन्। जसले गर्दा उनीहरूले सम्भावित नाफा गुमाउँछन्। यहाँ ती गल्तीहरू र तिनलाई सुधार गर्ने उपायहरूको विस्तृतमा व्याख्या गरिएको छ।
१. सानो नाफा बुक गर्ने र महँगोमा किन्ने
धेरै लगानीकर्ताले थोरै नाफा देख्नेबित्तिकै सेयर बेचिदिन्छन् र पछि त्यो सेयरको मूल्य धेरै बढेपछि फेरि महँगोमा किन्ने गर्छन्।
उदाहरणका लागि, फलाना कम्पनीको सेयर २०० मा किनेर, केही दिनमै २३०र२४० पुगेपछि बेच्ने र जब त्यही सेयर ३०० पुग्छ, त्यसपछि फेरि किन्ने। यस्तो गर्दा धेरै नाफा गुम्न सक्छ। बुल बजारमा धैर्य गर्नुपर्ने र बजारको अवस्था बुझेर मात्र निर्णय लिनुपर्ने हुन्छ।
२. १० प्रतिशत मूल्य बढेको सेयर किन्ने
कतिपय लगानीकर्ताले आज १० प्रतिशत मूल्य बढेको सेयर भोलि पनि बढ्छ भन्ने गलत बुझाइ राख्छन्।
उदाहरणका रूपमा, आइतबार १० प्रतिशत मूल्य बढेका बैंक सोमबार नै ४ प्रतिशतभन्दा धेरै घटेका पनि हुन्छन्। बढ्दो सेयरमा हानाथाप गर्ने र घट्दा बेच्ने प्रवृत्तिले नाफा गुम्न सक्छ।
३. एउटै सेक्टरमा लगानी गर्ने
धेरै लगानीकर्ताले कुनै एक दिन राम्रोसँग बढेको सेक्टरमा लगातार लगानी गर्ने गर्छन्, जुन गल्ती हो।
उदाहरणका लागि, कुनै एक दिन माइक्रोफाइनान्स समूहको सूचक धेरै बढ्यो भने लगानीकर्ताले त्यही समूहमा लगानी गर्छन्। तर पछि त्यो समूहको सूचक घट्न सक्छ। विविधीकरण नगरेर एउटै सेक्टरमा लगानी गर्दा जोखिम बढी हुन्छ।
४. मार्केट डेप्थमा भर पर्ने
बजारमा ठूला लगानीकर्ताहरूले मार्केट डेप्थमा झुक्याउने गर्छन्। बिक्री वा खरिदका लागि ठूलो परिमाणको अर्डर देखाउने, जब मूल्य म्याच हुने अवस्थामा आइपुग्छ, त्यसपछि अर्डर नै क्यान्सिल गरेर ठूला लगानीकर्ताले झुक्याउने गर्छन्।
उदाहरणका लागि, फलाना कम्पनीको मार्केट डेप्थमा २४७ रुपैयाँमा ५० हजार किन्न खोज्ने ठूला लगानीकर्ता भन्ने ठानेर धेरैले खरिदका लागि आदेश दिन सक्छन्। तर जब माथिको खरिद सकिँदै जान्छ र मूल्य घट्दै २४८ मा आइपुग्छ, त्यसपछि ५० हजार कित्ता अर्डर राख्नेले क्यान्सिल गरिदिन सक्छ। यसकारण मार्केट डेप्थका आधारमा खरिदबिक्रीको निर्णय जोखिमपूर्ण हुन्छ।
५. सामान्य प्राविधिक ज्ञानको उल्झन
प्राविधिक टुल्सको गलत उपयोगले पनि नाफा गुम्न सक्छ।
उदाहरणका लागि, आरएसआई (रिलेटिभ स्ट्रेन्थ इन्डेक्स) ८० कटेपछि बेच्नुपर्ने प्राविधिक मान्यता छ। तर बढ्दो बजारमा आरएसआईले ८० देखायो भनेर बेच्दा धेरै नाफा गुम्ने जोखिम हुन्छ। असार ३० गते आरएसआई ८० मा पुगेको थियो, जतिबेला नेप्से २२५७ अंकमा थियो। तर त्यसयता बजार १७.८ प्रतिशत बढेर २६६१ अंकमा पुगिसकेको छ। आरएसआई ८० पुग्दा बेच्नेहरुले अहिले ठूलो नाफा गुमाए।
६. वित्तीय स्थिति नहेर्ने, हल्लाकै भरमा निर्णय गर्ने
कुनै पनि कम्पनीको वित्तीय विवरण राम्रोसँग नहेरी हल्लाकै भरमा निर्णय गर्ने गल्ती पनि धेरैले गर्छन्।
बजार बढ्दै जाँदा हल्ला पनि धेरै हुने गरेको छ। तर वित्तीय विवरण राम्ररी हेरेर लगानी गर्नेहरुले दीर्घकालीन रुपमा धेरै लाभ लिन सक्छन्। वित्तीय विवरण राम्रो भएका कम्पनीबाट एकातिर लाभांश पनि पाउने, अर्कोतिर मूल्यको लाभ पनि हुँदा दोहोरो लाभ हुन्छ।
सुझावहरू
धैर्य गर्नुहोस्ः सेयर बजारमा धैर्य गर्नु महत्वपूर्ण हुन्छ। छिटोछिटो किनबेच गर्नुको सट्टा बजारको अवस्था बुझेर निर्णय लिनुहोस्।
विविधीकरण गर्नुहोस: एउटै सेक्टरमा मात्र लगानी नगर्नुहोस्। विभिन्न कम्पनी र सेक्टरमा लगानी गर्नुहोस्।
प्राविधिक र वित्तीय जानकारिमा आधारित निर्णय लिनुहोस: बजारको वित्तीय स्थिति बुझेर र प्राविधिक टुल्सको सही उपयोग गरेर निर्णय लिनुहोस्। हल्लाको भरमा निर्णय नगर्नुहोस्।
मार्केट डेप्थमा ध्यान नदिनुहोस: मार्केट डेप्थका आधारमा खरिदबिक्रीको निर्णय नगर्नुहोस्। ठूला लगानीकर्ताहरूले झुक्याउन सक्छन्।
यी सुझावहरू पालना गरेर सेयर बजारमा राम्रो नाफा लिन सकिन्छ र जोखिमलाई कम गर्न सकिन्छ।