पोखरा – पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिको विभिन्न पदमा उमेदवार बन्न चाहनेहरुको टिम बनाउन गृहकार्य शुरु भएको छ।
पोखराको जेठो संस्थाको रुपमा रहेको संघको ३५ औं अधिवेशन भदौको अन्तिममा गर्ने निर्णय भएसंगै चुनाबमा अध्यक्ष सहित पदाधिकारीहरु र सदस्यहरुको प्यानल बनाउनको लागि संघको संस्थापन समूहले गृहकार्य शुरु गरेको छ।
पोखरा उद्योग वाणिज्य संघमा करिब २ हजार ७ सय उद्योगी व्यवसायी सदस्य रहेका छन। उनीहरुले नै मतदान गरेर अध्यक्ष सहित नयाँ कार्यसमिति चुन्ने व्यवस्था रहेको छ।
संघका वर्तमान कार्यसमितिका अध्यक्ष पवन कुमार प्रजापतिले पुन: अध्यक्ष बन्ने चाहना प्रकट नगरेको र कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका गोकर्ण कार्कीलाई उमेदवार बनाउन वर्तमान अध्यक्ष प्रजापति सहित केही पूर्व अध्यक्ष मिलेर प्यानल बनाउन गृहकार्य शुरु गरेका हुन्। यो संगै अघिल्लो अधिवेशनमा अध्यक्ष पदका उपविजेता अर्जुन पोखरेल समेत केही अग्रज संगको परामर्शमा र उद्योगी व्यवसायीसँगको भेटघाटमा रहेको बताईन्छ। उनले पनि आफ्नो टिम बनाउन गृहकार्य शुरु गरेको बुझिएको छ।
कार्की २०५५ मा संघको साधारण सदस्य बनेपछि २०६१ मा संघको कार्यसमितिको सदस्य बन्न चुनाब लडेको भएपनि पराजित भएका थिए। पछिल्लो समयमा उनी लगातार ३ कार्यकाल संघको महत्वपूर्ण पदमा छन्। उनले दुई कार्यकालसम्म उद्योग तर्फको उपाध्यक्ष र पछिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत छन्। "अब मेरो उमेद्वारी अध्यक्ष पदमा नै रहनेछ र यो स्वाभाविक पनि हो, चुनाबको लागि सबैलाई मिलाएर टिम बनाउने प्रयासमा साथीहरु लाग्नु भएको छ," कार्कीले भने।
अर्जुन पोखरेल यस पटक पनि अध्यक्ष पदमा चुनाब लड्ने तयारीमा छन्। २०७१ मा संघको कार्यसमितिको सदस्य निर्वाचित भएपछि क्रमश: उपमहासचिव, महासचिव र वाणिज्य तर्फको उपाध्यक्ष जितेका उनले अघिल्लो पटक अध्यक्ष पदमा चुनाब लडेका थिए। यसपटक पनि अध्यक्ष पदमा चुनाब लड्ने कुरा सार्वजनिक गरेका उनले आफू पूर्व अध्यक्षहरु सहित अन्यसँगको परामर्शमा रहेको जानकारी दिए। "धेरै सदस्यहरुले मलाई अध्यक्ष बन्न आग्रह गरेकोले त्यसलाई मूर्तरुप दिन मैले गृहकार्य शुरु गरेको छु," उनले भने।
संघको संस्थापन समूहले यस पटक अध्यक्ष पदमा गोकर्ण कार्कीलाई समर्थन गर्ने र उनको नेतृत्वमा टिम बनाउने भएको छ। अध्यक्ष पछि वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा कसलाई उमेदवार बनाउने भन्ने बारेमा भने टुंगो लगाउन चुनौती जस्तै छ। हाल उद्योग तर्फका उपाध्यक्षमा देवेंद्र केसी र वाणिज्य तर्फका उपाध्यक्षमा उत्तममान बुद्धाचार्य रहेका छन् भने महासचिवमा बलराम आचार्य रहेका छन्। यिनै तीनजना मध्येबाट वरिष्ठ उपाध्यक्ष र अन्य दुई जना उपाध्यक्ष पदमा उमेदवार बनाउने सोचमा संस्थापन पक्ष रहेको छ।
अधिवेशनमा सदस्य पदमा उमेदवार बनेर पनि झिनो मतले पराजित हुनेमा ललित कुँवर रहेका छन्। उनी यस पटक पनि सदस्य पदमा उमेदवार बन्ने निश्चित जस्तै छ। अघिल्लो पटक सदस्यको उमेदवार बनेर पराजित भएका हिमानिधि लौडारी, विनोद केसी, रामचन्द्र शर्मा, धर्मेन्द्र बाटाजु, दुर्गा रञ्जित श्रेष्ठ र यामनाथ तिमिल्सिना यस पटक उमेदवार बन्ने वा नबन्ने भन्ने अझै खुलेको छैन।
आगामी भदौ २८ र २९ गते हुने अधिवेशनको लागि टिम वा प्यानल बनाउने गृहकार्य शुरु भएको छ। संस्थापन टिममा रहेकाहरु नै पदीय भागबण्डामा असहमत भएर पोखरेल टिममा समाहित हुन नजान्लान भन्न पनि सकिन्न। बिगतका केहि वर्ष राजनीतिक रुपमा प्यानल बनाएर चुनाब लड्ने प्रवृति समेत पोखरा उद्योग वाणिज्य संघमा देखिएको थियो तर राजनीतिक पार्टीको नजिक रहेर प्यानल बनाएपनि १/२ जनाले बाहेक सफलता पाउन नसकेपछि राजनीतिक पार्टीको आधारमा प्यानल बनाउने तर्फभन्दा व्यक्तिगत रुपमा प्यानल बनाउने तर्फ उमेदवारहरु देखिन थालेका छन्।
यस पटक संघका पूर्व अध्यक्षहरुको नाममा समेत दुई चिरामा विभाजित हुने अवस्था बिगतका केहि अधिवेशनमा देखिएको भएपनि यस पटक पूर्व अध्यक्षको नाममा समेत टिम विभाजन हुने खासै सम्भावना देखिन्न। तर केहि पूर्व अध्यक्षहरु भने अहिले देखि नै टिम वा प्यानल निर्माणमा जुटिसकेको समेत बताईन्छ।