पोखरा – नेपाली उत्पादनलाई प्रवर्द्धन गर्दै पोखरामा राष्ट्रिय पोशाक घरको उद्घाटन भएको छ। काठमाडौंको बानेश्वरमा सञ्चालन हुँदै आएको यो पोशाक घरलाई अब पोखरा र आसपासका जिल्लाहरूमा केन्द्रित गर्दै विस्तार गरिएको हो।
पोखरा न्युरोडमा खुलाइएको पोशाक घरको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, चर्चित गायक प्रकाश सपुतलगायतले गरे। पोखरामा दौरासुरुवाल, ढाका टोपी, र अन्य नेपाली परिधानहरूलाई प्रोत्साहित गर्दै यो पोशाक घर स्थापना गरिएको छ।
पोशाक घरका श्याम बजगाईंका अनुसार, यस शाखाले स्थानीय उत्पादन र कच्चा पदार्थहरूको प्रयोगमा विशेष ध्यान दिएको छ। इजी ग्रुपद्वारा सञ्चालित यो पोशाक घरले पोखरामा पनि नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
इजी ग्रुपका संस्थापक रामप्रसाद कंडेलले समूहले विभिन्न क्षेत्रमा लगानी र रोजगार सिर्जना गर्दै आएको जानकारी दिए। इजी ग्रुपले होटल, सरकारी संघ, एनजिओ, आइएनजिओ, र विभिन्न क्षेत्रमा आवश्यक कर्मचारी आपूर्ति गर्दै आएको छ। समूहले लेकसाइडमा चौतारी बुटिक होटल सञ्चालनमा ल्याएको छ, र गोर्खा ल्याण्ड सेक्युरिटीमार्फत विभिन्न कम्पनीहरूमा सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको छ।
नेपाली हर्बल प्रोडक्टहरूको बिक्री गर्ने इजी हस्पिटालिटी सप, डाइपर र प्याडजस्ता सामग्री विक्री गर्ने चौतारी इन्टरनेसनल प्राली, र सरसफाइका सामग्री विक्री गर्ने इजी ट्रेडिङको समेत संचालन इजी ग्रुपले गर्दै आएको छ। पोखरामा ५० करोड रुपैयाँभन्दा बढी विभिन्न क्षेत्रका व्यवसायमा लगानी गरिसकेको इजी ग्रुपले हालै राष्ट्रिय पोशाक घर पनि सञ्चालनमा ल्याएको हो।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले इजी ग्रुपले उद्योग, व्यवसायी र सेवाका क्षेत्रमा नवीन काम गर्दै आएको बताए। उनले नाफामात्रै होइन, गुणस्तरीय सेवामा पनि जोड दिनुपर्नेमा उल्लेख गरे। गायक प्रकाश सपुतले यो पोशाक घरले धेरै जनाको जीवन र संस्कृतिसँग जोड्न सक्ने बताए।
पोशाक घरका गुणस्तरलाई कायम राख्न काठमाडौंबाट दक्ष जनशक्ति पोखरामा उपलब्ध गराइएको छ। तानबाट बुनिएका अल्लो, ओक्ता, ढाका, कोगटी, र गाँजालगायतका पोशाकलाई विशेष रूपमा पोखरामा उपलब्ध गराउने योजना रहेको छ।