काठमाडौं – फ्रान्सको पेरिसमा जारी ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी ७ नेपाली खेलाडीमध्ये ६ जनाको प्रतिस्पर्धा पहिलो चरणबाटै सकिएको छ। टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, ब्याडमिन्टनका प्रिन्स दाहाल, र पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा आफ्नो इभेन्टमा पहिलो चरणबाटै बाहिरिएका हुन्। एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले ११ अगष्टमा महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन्।
सामान्यतया नेपाली खेलाडीहरूको लागि ओलम्पिकमा सहभागिता नै ठूलो उपलब्धि मानिन्छ। यद्यपि, एलेक्स शाहले आफ्नो इभेन्टमा राष्ट्रिय कीर्तिमान सुधार गरेका छन्।
नेपाली खेलाडीहरूको प्रदर्शन
स्यान्टु श्रेष्ठ (टेबलटेनिस)
स्यान्टु टेबल टेनिसको मेन्स सिंगल्समा सहभागी ६७ खेलाडीमध्ये अन्तिम वरियतामा थिए। उनको पहिलो खेल सेनेगलका अनुभवी खेलाडी इब्राहिम डियावसँग थियो। स्यान्टुले पहिलो गेममा अग्रता लिएर पनि हार व्यहोरे। इब्राहिमले लगातार गेम जित्दै स्यान्टुलाई ४–० ले पराजित गरे।
प्रिन्स दाहाल (ब्याडमिन्टन)
प्रिन्स दाहाल वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा छनोट भएका थिए। उनी समूह चरणमा ३ खेल खेल्दा पनि सबै खेलमा पराजित भए। पहिलो खेलमा उनको प्रतिस्पर्धा टोकियो ओलम्पिकका स्वर्ण विजेता भिक्टर एक्सलसेनसँग थियो। प्रशिक्षक बिना नै पेरिस पुगेका प्रिन्सले एल साल्भाडोरका प्रशिक्षकको सहयोग लिए। उनी भिक्टरसँग २१–८, २१–६ ले पराजित भए।
एलेक्जेन्डर शाह (पौडी)
एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै ५१.९१ सेकेन्डमा निर्धारित दूरी पूरा गरे। उनले गत फेब्रुअरीमा कतारको दोहामा भएको वर्ल्ड अक्याटिक च्याम्पियनसिपमा बनाएको ५२।१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान सुधार गरेका थिए। एलेक्स हिट ३ मा ८ खेलाडीमध्ये तेस्रो भए। कूल ७९ खेलाडीमध्ये एलेक्स समग्रमा ५९औं स्थानमा रहे।
सुस्मिता नेपाल (सुटिङ)
वाइल्ड कार्डमार्फत पहिलो पटक ओलम्पिक खेल्न गएकी सुस्मिता नेपालले महिला १० मिटर एयर राइफलमा ६०७.८ अंक मात्रै जोडेर क्वालिफिकेसन राउण्डबाटै बाहिरिइन्। यस इभेन्टमा कूल ४३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। सुस्मिता रिफ्युजी ओलम्पिक टिमकी लुना सोलोमन भन्दा मात्र अघि रहिन्।
मनिता श्रेष्ठ प्रधान (जुडो)
एसियन कोटाबाट पहिलो पटक ओलम्पिकमा छनिएकी जुडोकी मनिता श्रेष्ठ प्रधानले पहिलो बाउटमा सर्वियाकी मारिका पेरिसिकसँग जम्मा १ मिनेट २ सेकेण्डमै पराजित भइन्। मनिताको प्रशिक्षकको रुपमा देवु थापा पेरिस पुगेकी थिइन् तर खेल हुँदा मनिताको साथमा उपस्थित थिइनन्। पोशाकको समस्या समाधान गर्न प्रशिक्षकलाई खेल स्थलमा उपस्थित हुन नदिएको थियो।
डुवाना लामा (पौडी)
पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी डुवाना लामा हिट चरणबाटै बाहिरिइन्। उनले २०० मिटर फ्रिस्टाइल २ मिनेट २०.७४ सेकेण्डमा पूरा गर्दै अन्तिम स्थानमा रहिन्। खराब स्वास्थ्य अवस्थाका कारण डुवानाले राम्रो खेल्न नसकेको प्रशिक्षक नयना शाक्यले बताइन्।
एनओसीको प्रतिक्रिया
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले नेपाली खेलाडीहरूको प्रदर्शन सन्तोषजनक भएको बताएका छन्। ‘विपक्षी खेलाडीहरु शीर्ष वरियताका थिए, त्यसैले नेपालका सबैले राम्रै प्रदर्शन दिन प्रयास गरेका हुन्’, उनले भने। ओलम्पिकमा राम्रो प्रदर्शन गर्न ठूलो लगानी र लामो समयको तयारी आवश्यक रहेको उनले जोड दिएका छन्।
नेपाली खेलाडीहरूको ओलम्पिकमा सहभागिता भनेको ठूलो उपलब्धि हो। प्रतिस्पर्धा कडा भए पनि उनीहरूले आफ्नो तर्फबाट उत्कृष्ट प्रयास गरेका छन्। भविष्यमा अझ राम्रो प्रदर्शनका लागि प्रशिक्षण, लगानी, र तयारीमा सुधार आवश्यक देखिन्छ।