शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा आस्मा कुमारी केसीले मिस नेपालको उपाधी जितेकी छन्।
हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले "मिस नेपाल वर्ल्ड"को उपाधि जितेकी हुन्। उनलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन्।
आस्मा कुमारी केसी काठमाडौंकी हुन् र उनले समाजशास्त्रमा स्नातक (ब्याचलर्स) पूरा गरेकी छिन्। आस्माले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने लक्ष्य राखेकी छिन्।
सुमना केसी र करूणा रावलको सफलता
यसै क्रममा, सुमना केसीले "मिस नेपाल अर्थ २०२४" को उपाधि जितेकी छिन् भने करूणा रावलले "मिस नेपाल इन्टरनेसनल २०२४" को ताज पाएकी छिन्। सुमना चितवनकी हुन् र उनले डेन्टल सर्जरीमा स्नातक गरेकी छिन्। करूणा तनहुँकी हुन् र नर्सिङ्गमा स्नातक गरेकी छिन्।
विशेष पुरस्कारहरू
प्रतियोगितामा विभिन्न विशेष पुरस्कारहरू पनि प्रदान गरिएका थिए। प्रेराविता स्वारले "मिस कन्फिडेन्ट" को उपाधि जितेकी छिन् भने सिम्रिका मानन्धरले "मिस हेल्दी स्किन" को उपाधि प्राप्त गरेकी छिन्। यसका साथै, सुमना केसीले "मिस हाईजीन" को पुरस्कार पनि जितेकी छिन्।
प्रतियोगितामा २५ सुन्दरीहरू सहभागी भएका थिए र शीर्ष १३ सम्मको छानिएका प्रतियोगीहरूमा अञ्जना पुन, इरिना श्रेष्ठ, किमती श्रेष्ठ, निविता चापागाईं लगायतका नामहरू समावेश थिए।