सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीको रूपमा कमलबहादुर शाह कांग्रेसले अघि सार्ने निश्चित भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने निर्देशन दिएपछि अन्य आकांक्षीहरूले आफ्नो दाबी फिर्ता लिएका छन्।
शेरबहादुर देउवाका भतिजो प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्टले पनि मुख्यमन्त्रीको आकांक्षा देखाए तापनि देउवाको निर्देशन पछि शाहलाई सर्वसम्मत रूपमा मनोनित गर्ने निर्णय भएको हो।
सुदूरपश्चिम प्रदेशका वर्तमान मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनको आह्वान गरेका थिए। मुख्यमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय दिइएको थियो। सोही अनुरूप कांग्रेसले शाहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने योजना बनाएको छ।
कांग्रेस, एमाले, र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाहले आज साँझसम्म मुख्यमन्त्रीको दाबी पेस गर्नेछन्। शाहले यसअघि १४ महिनासम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
कांग्रेसले आइतबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ, जसमा मन्त्रीहरूको नाम पनि टुंगो लगाइनेछ। यसपटक नयाँ अनुहारहरूलाई मन्त्री बनाउने तयारी कांग्रेसको रहेको छ।
यता, एमालेले पनि सरकारमा कसलाई पठाउने भन्ने निर्णय गर्न बाँकी छ। दीर्घ सोडारी नेतृत्वको सरकारमा एमालेबाट सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री थिए। यी पुराना मन्त्रीमध्ये केही दोहोरिने र केही नयाँ अनुहार आउने सम्भावना रहेको एमालेका एक सांसदले बताएका छन्।
नागरिक उन्मुक्ति पार्टीले भने आफ्नो भागमा पर्ने मन्त्रीको नाम टुंगो लगाइसकेको छ। पार्टीबाट लक्ष्मणकिशोर चौधरी मन्त्री बन्ने छन्।
नेताहरूले आइतबार साँझ पाँच बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्ने र आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको जानकारी दिएका छन्।