दाङ - घोराही-तुलसीपुर सडकखण्डमा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ। टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले दोषी चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति माग गर्दै सडक अवरुद्ध गरेका हुन्।
शनिबार साँझ घोराही उपमहानगरपालिका-१० सौंरीकुलामा भएको दुर्घटनामा घोराही उपमहानगरपालिका-९ मछाही निवासी ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो। लु २ ख ५०८५ नम्बरको टिपरले बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको टिपरको ठक्करले गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
मृतकका आफन्तले घोराही-तुलसीपुर सडकखण्डमा सवारी साधन चल्न दिएको छैन। प्रहरीले पश्चिम नवलपरासी निवासी टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान गरिरहेको छ।