मर्दी हिमाल बेस क्याम्पमा शनिबार स्थानीय भेडापालक गोविन्द गौतमले निगालो घारीमा दुईवटा हड्डी, एक जोडी टाउजर, र आइफोन फेला पारेका छन्। उक्त स्थान समुद्री सतहदेखि ४५०० मिटर उचाइमा रहेको लामडाँडा खोँचमा पर्छ।
माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले मानव अवशेष फेला परेको पुष्टि गर्दै भने, 'भेडा चराउँदा स्थानीयले मानिसको हड्डी, टाउजर, र आइफोन फेला पारेका छन्। उनीहरूले मलाई फोटो पनि पठाएका छन्।' वडाध्यक्ष क्षेत्रीले प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लाई यसबारे जानकारी गराइसकेको बताए।
लेकमा पानी परिरहेको र उक्त स्थान बस्तीभन्दा धेरै माथि भएकाले अवशेष पोखरा ल्याउन कठिनाई भएको छ।
उक्त मानव अवशेष गत डिसेम्बर ३० मा हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको हुन सक्ने आशंका गरिएको छ। माइकल मर्दी बेस क्याम्पबाट हराएका थिए। वडाध्यक्ष क्षेत्रीले माइकलको अवशेष हो कि होइन भनेर पत्ता लगाउन उनका परिवारलाई टाउजर र आइफोनको तस्बिर पठाइएको जानकारी दिए।