बाराको निजगढ नगरपालिका-६ योजना टोलमा ५० वर्षीया धनमाया थापाको शंकास्पद मृत्यु भएको छ।
स्थानीय बासिन्दाका अनुसार धनमायालाई उनका श्रीमान् दिलबहादुर थापाले सुत्ने कोठामा रगतसहित बान्ता गरेको अवस्थामा फेला पारेका थिए। उपचारका लागि निजगढ-९ स्थित सामुदायिक अस्पताल प्रसूतिगृहमा ल्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरे।
धनमायाको शव अन्तिम संस्कारका लागि घर ल्याइएपछि प्रहरीले शनिबार दिउँसो पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको छ।
हत्या वा प्राकृतिक मृत्यु: अनुसन्धान जारी
इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सुमित कुशवाहका अनुसार प्रारम्भिक अनुसन्धानमा कर्तव्यज्यानसम्बन्धी कुनै लक्षण नदेखिए पनि केही स्थानीयले हत्या हुन सक्ने बताएपछि शव पोस्टमार्टमका लागि कलैया अस्पताल पठाइएको हो।
स्थानीयहरूका अनुसार एक साताअघि श्रीमान्-श्रीमतीबीच घरायसी विवादमा कुटाकुट भएको थियो, जसपछि धनमाया अलग्गै कोठामा बस्दै आएकी थिइन्। सोही घटनापछि उनले अत्यधिक मदिरा सेवन गर्न थालेको पनि बताइएको छ। प्रहरी निरीक्षक कुशवाहले घटनाको थप अनुसन्धान भइरहेको र हत्या वा मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने जानकारी दिए।