काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले धातुजन्य वस्तुलाई नगद सरहको मान्यता दिने प्रस्ताव राखेका छन्।
सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै सांसद बरालीले यस्तो व्यवस्था आवश्यक रहेको बताएका हुन्।
प्रस्तावका प्रमुख बुँदाहरू
सुरक्षित कारोबार ऐन २०६३ को दफा २ मा परिभाषा खण्डलाई परिमार्जन गर्दै धातुजन्य वस्तुलाई नगद सरहको मान्यता दिने प्रावधान थप गर्नुपर्ने सांसद बरालीको प्रस्ताव छ। उनले प्रस्तावमा भनेका छन्, “खराब नियतले कारोबार गर्ने व्यक्तिलाई मात्र सजायको भागिदार बनाउने र असल नियतले कारोबार गर्नेलाई सजायको भागिदार हुन नपर्ने स्पष्ट उल्लेख गर्नुपर्छ।”
सुन चाँदी कारोबारमा नियतको महत्त्व
सांसद बरालीले सुन चाँदीजस्ता धातुजन्य वस्तुहरूको कारोबारमा गलत नियत नराखेर खरिदबिक्री गर्नेहरू समेत सजायको भागिदार हुन सक्ने कानुनी व्यवस्था रहेकोले आफूले यस्तो प्रस्ताव गरेको बताए। उनले भने, “कसैले सुन भन्सार छलेर वा चोरी गरेर ल्यायो र बाबुबाजेको सम्पत्ति भनेर एउटालाई गाल्न लगाएर गरगहना बनाउन लगायो भने अर्को पसलमा लगेर गाल्नेसँग बिल लिएर त्यो देखाएर बेच्यो। यस्तो अवस्थामा किन्नेको नियत खराब हुँदैन। त्यो समेत राज्यको नजरमा दोषी हुन सक्छ। यस्तो नहोस् भन्नका लागि कारोबारको नियत के थियो भनेर हेर्नुपर्छ।”
बजारलाई थप सहयोग
सुन चाँदी लगायत अन्तर्राष्ट्रिय बजार मूल्य भएका वस्तुहरूलाई नगद सरहको मान्यता दिँदा बजारलाई थप सहयोग पुग्ने भएकाले आफूले यो प्रस्ताव गरेको उनले जानकारी दिए। सुरक्षित कारोबार सम्बन्धी विधेयकमा ६ जना सांसदले ६ वटै समूहमा संशोधन प्रस्ताव दर्ता गरेका छन्। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको विधेयक दफावार छलफलको चरणमा पुगेको छ। दफावार छलफल अगाडि सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन्।