धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने भएका छन्। आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा सपथ ग्रहण गर्ने कार्यक्रम छ।
प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएको छ। सपथ ग्रहण गरेपछि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी समेत गरेका छन्।
यसका लागि शाहले सत्तारूढ नेकपा एमालेसँग परामर्श गरिरहेका छन् भने नेपाली कांग्रेससँग पनि मन्त्रीहरूको नाम टुंग्याउन छलफल जारी छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच ३/३ मन्त्रालय लिने सहमति भए पनि कुन मन्त्रालय कसले लिने भन्ने निर्णय हुन बाँकी छ। नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा समेट्ने योजनामा मुख्यमन्त्री शाहले एउटा मन्त्रालय दिने प्रस्ताव गरेका छन्।
१७ असारमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि अल्पमतमा परेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।