दिल्ली – भारतले पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
विदेश मन्त्रालयले भारतीय उद्योग परिसंघ (सिआइआई)सँगको सहकार्यमा तीनदिने सम्मेलनको आयोजना गर्नेछ। विदेश मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार, सम्मेलनको उद्घाटन विदेशमन्त्री एस जयशंकरले गर्नेछन् भने केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयललगायतका नेताहरूले सम्मेलनलाई सम्बोधन गर्नेछन्।
सम्मेलनमा व्यापार, वाणिज्य, उद्योग र ऊर्जा क्षेत्रका समस्याबारे बिमस्टेक सदस्य राष्ट्रका मन्त्री, उच्चपदस्थ सरकारी अधिकारी, र उद्यमीहरूको सहभागितामा छलफल हुने अपेक्षा गरिएको छ।
मन्त्रालयले सम्मेलनको पहिलो उद्देश्य बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बे अफ बंगाल इनिसिएटिभ (बिमस्टेक)का सदस्य राष्ट्रबीच व्यापार र लगानीको माध्यमबाट क्षेत्रीय सहयोगलाई वृद्धि गर्ने रहेको जनाएको छ।
कार्यक्रम आर्थिक सहकार्यलाई सहज बनाउने, व्यापार, ऊर्जा सुरक्षा र दिगो विकासमा केन्द्रित रहनेछ।