सोमबार नेप्से परिसूचकले २८ सय विन्दु पार गर्दै २८०१ विन्दुमा पुगेको थियो तर त्यस विन्दुमा टिक्न सकेन।
अन्ततः ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा बन्द भयो। यो २९ महिनाकै उच्च विन्दु हो। पछिल्लो पटक २०७८ माघ २७ गते नेप्से २८०१ विन्दुमा पुगेको थियो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ।
बिहीबार २१ अर्ब ७१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार २१ अर्ब ८६ करोड रूपैयाँको कारोबार भएको छ। यसदिन ३२६ वटा धितोपत्रको चार करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर किनबेच भएको थियो।
सोमबार १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ। एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यस दिन १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसमा अधिकांश जलविद्युत कम्पनीको सेयर मूल्य समावेश छन्।
नेपाल फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता १९३८ रूपैयाँ ६० पैसा पुगेको छ। हिमालयन लघुवित्तको मूल्य ७.६२ प्रतिशतले घटेर प्रति कित्ता ११५७ रूपैयाँ ५० पैसा कायम भएको छ।
सोमबार सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ। कम्पनीको प्रति कित्ता मूल्य ८४५ रूपैयाँमा १ अर्ब २६ करोड रूपैयाँको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ९.७४ प्रतिशत बढेको हो। दोस्रो सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्टक्चरको भएको छ, जसको प्रति कित्ता १०९९ रूपैयाँमा ४९ करोड ३८ लाख रूपैयाँको सेयर कारोबार भएको हो।
समूहगत परिसूचकमा सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ। होटल्स तथा पर्यटन समूहको परिसूचक ६.६९ प्रतिशतले सर्वाधिक बढेको छ भने वित्त समूहको परिसूचक ४.६१ प्रतिशतले सर्वाधिक घटेको छ।