काठमाडौं - सोमबार काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
आजको जितसँगै नेपालले सेमिफाइनलमा इरानसँग खेल्ने निश्चित भएको छ। नेपालले दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा माल्दिभ्सलाई २५–८, २५–१९ र २५–१८ को सेटमा पराजित गर्यो।
पहिलो सेटमा दबाब
नेपालले पहिलो सेटमा लगातार दबाब बनाएर २५–८ को स्पष्ट जित निकालेको थियो।
दोस्रो सेटमा प्रतिस्पर्धा
दोस्रो सेटमा नेपालले बेन्चमा रहेका खेलाडीलाई मौका दियो। माल्दिभ्सले ५–५ को बराबरीसँगै राम्रो टक्कर दिएको थियो। १३–१३ को बराबरी भए पनि माल्दिभ्सले १५–१३ को अग्रता लियो। नेपालले त्यसपछि निरुता ठगुन्ना र लिबेरो सलिना श्रेष्ठलाई मैदानमा ल्याएर १८–१८ को बराबरी गर्यो र त्यसपछि लगातार अग्रता बनाउँदै २५–१९ को जित हात पार्यो।
तेस्रो सेटमा जित
तेस्रो सेटको सुरुवातमा माल्दिभ्सले केहीबेर प्रतिस्पर्धा गरे पनि नेपालले अग्रता बनाउँदै २५–१८ को जित दर्ता गर्यो।
सेमिफाइनल तालिका
सेमिफाइनल खेल मंगलबार हुनेछ। पहिलो सेमिफाइनल ३ बजे भारत र श्रीलंकाबीच हुनेछ भने दोस्रो सेमिफाइनल ५ः१५ मा नेपाल र इरानबीच खेल हुनेछ।