काठमाडौं - सरकारले प्राकृतिक विपदमा घर गुमाएका नागरिकहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ दिने नयाँ निर्णय गरेको छ।
विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबारको बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरुलाई दुई किस्तामा ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो। यसअघि भूकम्पबाट घर गुमाएकाहरुलाई मात्र अस्थायी आवासका लागि राहत रकम दिने निर्णय गरिएको थियो। तर, नयाँ निर्णयले बाढी, पहिरो र आगलागीबाट प्रभावित नागरिकहरुलाई पनि समेटेको छ।
कार्यविधि स्वीकृत
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार, विपद व्यवस्थापन कार्यकारी समितिको २१ वैशाख २०८१ मा बसेको २२ औं कार्यकारी समितिको बैठकले विपद्बाट प्रभावित घर परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८१ स्वीकृत गरेको थियो। तर, अर्थ मन्त्रालयबाट राय प्राप्त नहुँदा यो कार्यविधि कार्यान्वयनमा आउन सकेको थिएन।
अर्थ मन्त्रालयको सहमति
हालै मात्र अर्थ मन्त्रालयले सहमति दिएपछि सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई दुई किस्तामा ५० हजार रुपैयाँ दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए। यस निर्णयले प्रभावित परिवारहरुलाई राहत मिल्ने र उनीहरुको अस्थायी आवास निर्माणमा सहयोग पुर्याउने विश्वास गरिएको छ।