काठमाडौं - नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन्।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेलन गर्दै अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए।
राष्ट्रपतिको छलफल र कर्फ्यु अन्त्य
सोमबार नै साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरूसँग छलफल गरेका थिए, जसमा उनले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा गर्ने र कर्फ्यु अन्त्यको घोषणा गरेका छन्। साथै, उनले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरूलाई रिहा गर्न आदेश दिएका छन्।
विद्यार्थी नेताहरूको असहमति र युनुसको प्रस्ताव
आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरूले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै विद्यार्थी नेताहरूले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन्। उनीहरूले दिउँसो ३ बजेसम्म संसद विघटन गर्न समेत राष्ट्रपतिलाई आग्रह गरेका छन्।
मुहम्मद युनुसको स्वीकृति
विद्यार्थीहरूले प्रस्ताव गरेपछि युनुस पनि सरकारको मुख्य सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन्। सुरुमा आफू तयार नभएको भन्दै उनले भनेका छन्, "किनकी मैले गर्नुपर्ने काम धेरै छ।" बंगलादेश बाहिर (फ्रान्समा) रहेका ८४ वर्षका उनले भने, "विद्यार्थीहरूले धेरै त्याग गरेका छन्, देशका नागरिकहरूले पनि त्याग गरेका छन्। मेरो पनि केही दायित्व हुन्छ। त्यसपछि मैले विद्यार्थीहरूलाई यो जिम्मेवारीका लागि तयार छु भनेको हुँ।"
बंगलादेश फर्किने योजना
मुहम्मद युनुसले अब छिट्टै बंगलादेश फर्किन लागेको समेत बताएका छन्।