नुवाकोट - नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा बुधबार दिउँसो हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ।
एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको थियो। हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो, तर उडेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो। हेलिकप्टर दुर्घटना बुधबार दिउँसो २ बजेर २० मिनेटमा भएको अनुमान गरिएको छ।
घटनास्थलमा पाँच जनाको शव फेला
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ। उनले भने, "चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ। दुई जना पुरुष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन।"
मृतकहरूको पहिचान
हेलिकप्टरका पाइलट नेपाली नागरिक अरूण मल्ल थिए भने चार जना यात्रु चिनियाँ नागरिक थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए अनुसार चिनियाँ यात्रुहरू जुदाड टाङ, जिली, यियाद वु, र जेमिङ सी थिए।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शवको प्रकृति हेरेर पोस्टमर्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइने जानकारी दिए।