सुर्खेतको वीरेन्द्रनगरस्थित ईत्राम खोलामा पानीको सतह बढेपछि विद्यार्थी सवार एउटा स्कुल बस दुर्घटनामा परेको छ।
साउन २३ गते, करीब १६:४० बजे, नेवारेबाट वीरेन्द्रनगर बजारतर्फ गइरहेको डी.भी. निकेतम बोडिङ स्कुलको क.प्र.०२-००१ क ०७६९ नं.को बस ईत्राम खोलामा पानीको बहाव बढेका कारण नियन्त्रण गुमाउँदै खोलामा पल्टिएको हो। बसको चालक, ३७ वर्षीय पदम बहादुर बि.क., सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ का बासिन्दा हुन्।
बसमा सवार ११ जना विद्यार्थी घाइते भएको जानकारी प्राप्त भएपछि तत्कालै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काको नेतृत्वमा २२ जना प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले बसभित्र रहेका सम्पूर्ण विद्यार्थीलाई सकुशल उद्धार गरी उपचारका लागि पठाएको छ।
घटनास्थलमा पानीको बहाव अत्यधिक भएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। विद्यार्थीहरूको स्वास्थ्य अवस्था र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।