काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकाललाई सभामुख देवराज घिमिरेले बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सांसद ढकालले सार्वजनिक यातायातको असुरक्षाबारे बोल्न समय माग गरेका थिए। तर, अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले ढकालको माइक काटिदिए। यसपछि रास्वपा र राप्रपाका सांसदहरू उठेर अवरोधमा उत्रिएका थिए।
रास्वपा सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनको विरोध
रास्वपा सभापति रवि लामिछानेलाई सभामुखले बोल्न समय दिएपछि लामिछानेले सभामुखको कदमको विरोध गरे। उनले सांसद हरि ढकालले विद्युत महसुलबारे कुरा उठाउनेबित्तिकै माइक काटिएको भन्दै असन्तोष व्यक्त गरे।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदहरूलाई संसदमा जुनसुकै विषय उठाउन अधिकार रहेको बताउँदै सभामुखले त्यो अधिकारलाई रोक्न नपाउने बताए।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको समर्थन
रास्वपा र राप्रपाका सांसदहरू संसद अवरोधमा उत्रिएका बेला प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरू पनि उठेर विरोधमा सामेल भए।
संसद पुनः सञ्चालन
अन्ततः सभामुख घिमिरेले सांसद हरि ढकाललाई बाँकी समय उपयोग गर्न समय दिएपछि विरोध समाप्त भयो। माओवादी, रास्वपा, र राप्रपाका सांसदहरू आ-आफ्नो स्थानमा बसेपछि संसद बैठक पुनः सञ्चालनमा आयो।