काठमाडौं - माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरूले आफ्नो धारणा राखिसकेका छन्। बैठकमा बोल्ने क्रम सकिएसँगै पार्टी नेतृत्व र संगठनबारे विभिन्न बहसहरू अघि बढेका छन्। तर, यस बैठकबाट कुनै ठोस प्रस्ताव वा निर्णय आउन सकेको छैन।
प्रचण्डको विकल्पबारे बहस
उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरण गर्ने वा महाधिवेशनमा चुनावमा भिड्ने प्रस्ताव राखेपछि बैठकमा तरंग आएको छ। यद्यपि, धेरैजसो नेताहरूले प्रचण्डको विकल्प नभएको धारणा राखेका छन्।
स्थायी समिति सदस्यहरूका अनुसार, प्रचण्डको कमजोरी भए तापनि पार्टीलाई रुपान्तरण गर्ने नेतृत्व उनैले गर्नुपर्ने निष्कर्षमा बैठक पुगेको छ।
प्रचण्डको नेतृत्वमा बलियो एकता बनाउने जोड
नेताहरूले प्रचण्डले सुशासन र भ्रष्टाचार नियन्त्रणमा राम्रो काम गरे तापनि सरकार छोड्नुपर्ने बाध्यता आएको बताएका छन्। त्यसैले, यस्तो अवस्थामा नेतृत्वमाथि प्रश्न उठाउनु उचित नभएको उनीहरूको धारणा छ। नेताहरूले पार्टीलाई बलियो बनाउँदै जनतामा जानुपर्ने बताउँदै, प्रचण्डले आफूलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
संगठन सुदृढीकरण र सामूहिक नेतृत्वको आवश्यकता
बैठकमा नेताहरूले प्रचण्डलाई सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। साथै, माओवादीको संगठनलाई सुदृढ पार्दै विचार मिल्नेहरूसँग एकता र मोर्चा बनाउने कुरामा छलफल भएको छ।
नेतृत्व हस्तान्तरणको प्रश्न
प्रचण्डको नेतृत्वमा माओवादी पार्टी पछिल्लो समय खुम्चिँदै गएको छ। पहिलो संविधानसभामा ३१ लाख भोट पाएको माओवादी अहिले तेस्रो दलको रुपमा खुम्चिएको छ। यस्तो अवस्थामा, स्थायी समिति सदस्यहरूले नेतृत्व हस्तान्तरणको आवश्यकता रहेको बताए पनि, प्रचण्डले त्यो आवश्यकता महसुस गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन्।
प्रचण्डको जवाफ बिहीबार
प्रचण्डले स्थायी समिति सदस्यहरूको मतलाई सुनेपछि बिहीबार जवाफ दिने कार्यक्रम छ। अधिकांश स्थायी समिति नेताहरू आफ्नो पक्षमा देखिएकाले प्रचण्डले उपमहासचिव शर्मालाई धेरै जवाफ दिने सम्भावना नरहेको निकट स्रोतहरूले बताएका छन्।
तर, शर्माले उठाएको विषयमा प्रचण्डको प्रष्ट असन्तुष्टि देखिनसक्छ। अन्य विषयहरू भने केन्द्रीय समितिमा लिखित रूपमा राख्ने प्रचण्डको योजना रहेको छ।