वीरगञ्जको गहवा(क), शितलपुर, र सुशिला सुन्दरी क्षेत्रका तीन स्थानमा जग्गाको स्वामित्वको विषयमा गहिरो कानूनी विवाद चलिरहेको छ।
यी तीन स्थानमा रहेको जग्गाको क्षेत्रफल लगभग मिल्दोजुल्दो छ र सिट नम्बर पनि एउटै रहेको छ। सबैले यो सिट नम्बरको दावी गरेका छन्। २०४६ सालको शहरी नापी अन्तर्गत कित्ता नम्बर ९७ र ११७ कायम भएको विषयमा पनि सबै दावेदारहरूको तर्क मिलेको देखिन्छ।
गहवा (क) रैती नम्बर ५२
गहवा (क) रैती नम्बर ५२ को जग्गाको स्वामित्वको दावी जोखु साहका छोरा जगदीश साहले गरेका छन्। उनीहरूले ०४६ सालको नापीमा छुट भएको कुरा उठाउँदै ०६१ सालको बैशाख २४ गते मालपोत कार्यालयमा दावी दर्ता गरेका छन्। ०६४ सालको भदौ १० गते जिल्ला अदालतको रोहवरमा मिलापत्र पनि गरेका छन्। जगदीश साहले कित्ता नम्बर ९७ र ११७ को जग्गा मिलापत्रमा बण्डा भइसकेको र दाखिल खारिज नामसारीको सिफारिश बीरगञ्ज उपमहानगरपालिकाबाट पनि गरिएको बताउँछन्। अदालतमा भएको मिलापत्रलाई चुनौती दिन नमिल्ने उनका अनुसार छ।
शितलपुर रैती नम्बर २५
शितलपुर छपकैया कट्टी अन्तर्गत रैती नम्बर २५ को १ बिगाह ७ कठ्ठा १० धुर जमिन कुल बहादुर सिंहका छोरा स्व. प्रितम सिंह ठकुरीको दावीको आधार हो। ठकुरीले पनि यो जमिन कित्ता नम्बर ११७ र ९७ नै हो भनेका छन् र सिट नम्बर ०३९०२३ र २२ दिएका छन्। उनले ताराचन्द केडियाले किर्ते कागजातको सहारा लिएर आफ्नो नाममा दर्ता गरेको आरोप लगाएका छन्। उनले ०६७ सालको कार्तिक ८ गते नामसारी र हालसावीक गर्न मालपोत कार्यालयमा निवेदन दिएका छन्, तर मालपोतले के गर्यो भन्ने खुल्न सकेको छैन।
गहवा (ख) वडा नं २ रैती नम्बर २४०
गहवा (ख) वडा नं २ रैती नम्बर २४० को १ बिगाह १५ कठ्ठा जग्गा पुरेन्द्र बिक्रम शाहका छोरा तारिणी बिक्रम शाहले दावी गरेका छन्। शाहले ०६८ सालको माघ १५ गते मालपोत कार्यालयमा हालसाविक नमसारी गरी जग्गाधनी पूर्जा उपलब्ध गराउन माग गरेका छन्। तर, मालपोतले यो निवेदनमा कुनै कारवाही गरेको देखिंदैन। ०६३ सालको साउन १ गते ताराचन्द केडियाको तर्फबाट इन्दुमती केडिया र दीनानाथ केडियाले दिएको निवेदनमा कारवाही गरि सो जग्गाको हालसाविक नमासारी दाखिल खारेज गरिएको देखिन्छ।
शितलपुर गाविस वडा नं ४ रैती नम्बर १२
यो रैती नम्बर १२ को जग्गाको क्षेत्रफल २ बिगाह १६ कठ्ठा ५ धुर रहेको देखिन्छ। सिट नम्बर ३९०-२३ को किता ९९ सय र १०० कायम भएको छ। शरद बिक्रम शाह र मुकुल बिक्रम शाहको नाममा २ बिगाह १६ कठ्ठा ५ धुरको जग्गाधनी प्रमाण पूर्जा समेत कायम छ। यो तथ्यलाई मान्ने हो भने शाह परिवारको दावीमा दम देखिन्छ।
सुशिला सुन्दरी रैती नम्बर १
यो रैती नम्बर १ को जग्गा आजको बीरगञ्ज महानगरपालिकाको छपकैया वडा नं २ मा पर्छ। केडिया अर्गनाइजेशनको पेट्रोल पम्प र अन्य उद्योगहरू रहेको छपकैया पोखरिको पूर्वतर्फको क्षेत्र हो। केडिया परिवारको अहिले पनि त्यहाँ स्वामित्व रहेको छ। ताराचन्द केडियाले आफ्नो जग्गा बिक्री पछि कित्ता नम्बर ११७ कायम भएको दावी गरेका छन्, जुन मालपोत कार्यालय पर्साले अनुमोदन गरेको देखिन्छ। तर, विभागले यसमा गम्भीर त्रुटी भएको बताएको छ।
भ्रष्टाचार र सर्वोच्च अदालतको निर्णय
भूमि सुधार तथा व्यवस्थापन विभागले ०७९ सालको जेठ १७ गते कित्ता नम्बर ११७ र ९७ को जग्गा सरकारीकरण गर्ने निर्णय गरेको थियो। जिल्लाप्रशासन कार्यालय पर्सालाई जग्गाधनी पूर्जा बनाउन आदेश दिइएको थियो। तर, मालपोतका भ्रष्ट कर्मचारीहरूले यो समस्या बल्झाएका छन्।
सर्वोच्च अदालतले ६ वटा मुद्दामा बहस सुनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई बदर गरेको छ। अदालतले तथ्य प्रमाणको आधारमा जसको हक स्थापित हुन्छ, त्यसलाई जग्गाको स्वामित्व स्थापित गर्न निर्देशन दिएको छ। तर, मालपोत कार्यालयले अदालतको आदेशको पालना गरेको छैन।
अहिलेको स्काइलाइन मल निर्माण भएको जग्गाको कित्ता नम्बर १०५ को खित परविनको निवेदनको आधारमा अदालतले परमादेशको आदेश जारी गरेको छ। अदालतले निखत परविन अन्न्सारीको माँग बमोजीनम हालसाविक गर्न आदेश गरेको छ तर मालपोत कार्यालय कानमा तेल हालेर बसेको छ।
कित्ता नम्बर ११७ र ९७ को विषयमा सर्वोच्च अदालतले दावी गर्ने सबैलाई सूचना गरेर जसको प्रमाण पुग्छ त्यसलाई जग्गाको स्वामित्व स्थापित गर्नु भनेको छ। तर, मालपोत कार्यालयले अदालतको यो आदेशको पनि पालना गरेको छैन।