काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बागमती खोलामा शनिबार फोटो खिच्ने क्रममा एक बंगलादेशी नागरिक बेपत्ता भएका छन्। घटनापछि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजी कार्य जारी राखेको छ।
खोजी कार्यमा सशस्त्र प्रहरीको टोली खटियो
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता बंगलादेशी नागरिकको खोजीका लागि सशस्त्र प्रहरीको नं. २० विपद् उद्धार गणबाट ४ जना गोताखोरसहित १० जनाको टोली खटिएको छ। खोलामा हालसम्म पनि ती बंगलादेशी नागरिकको अत्तोपत्तो लागेको छैन।
रानी झुल्ला जंगलमा हराएका भारतीय र नेपाली नागरिक सकुशल फेला
त्यस्तै शनिबार साँझ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ र ७ को सीमामा पर्ने रानी झुल्ला जंगलमा घुम्न गएका ४ जना भारतीय र १ जना नेपाली नागरिक हराएका थिए। सशस्त्र प्रहरी बलको नं. २२ गुह्वेश्वरी गणबाट खटिएको टोलीले ती पाँच जनालाई राति करिब पौने १ बजे जंगलमा सकुशल फेला पारेको थियो। फेला परेका सबैलाई खरिपाटी प्रहरी वृत्तमा बुझाइएको छ।