काठमाडौँ - राष्ट्रियसभा सदस्य बामदेव गौतमले प्रधानमन्त्रीसँग भेट्न समय नपाएको भन्दै गुनासो गरेका छन्।
आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले देश र जनताका विषयमा छलफल गर्न खोज्दा पनि प्रधानमन्त्रीसँग भेट्न समय नपाएको बताए।
उनले सरकारका प्रमुखसँग महत्वपूर्ण विषयमा छलफल गर्न चाहेको भए पनि समय नपाएकाले राष्ट्रियसभामार्फत आफ्नो धारणा राखेको उल्लेख गरे।
प्राकृतिक प्रकोप र पहिरो नियन्त्रणको आग्रह
गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटना बारम्बार घट्ने गरेको बताउँदै, पहिरोबाट हुने क्षति रोक्न इजरायलको प्रविधि भित्र्याउन आवश्यक रहेकोमा जोड दिए।
उनले जोखिमयुक्त भौगोलिक क्षेत्रलाई बलियो बनाउन इजरायली प्रविधिको प्रयोग गर्नुपर्ने सुझाव दिँदै, यसका लागि परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले इजरायलका राजदूतसँग छलफल सुरु गर्नुपर्ने आवश्यकता औंल्याए।
गौतमले नेपाली जनताको सुरक्षा र विकासको निम्ति उक्त प्रविधि आवश्यक रहेको तर्क गरे।