काठमाडौं - पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुने भएको छ। आर्थिक स्रोतको अभावका कारण रोकिएको यो कार्यक्रमका लागि अब अर्थ मन्त्रालयले आवश्यक बजेट सुनिश्चित गरेको छ।
अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गर्यो
अर्थ मन्त्रालयले ५ करोड रुपैयाँको विनियोजन गरेपछि एमबीबीएस अध्ययन अध्यापन सुरु गर्न बाटो खुलेको हो। प्रारम्भमा स्रोतको अभावले अध्ययन सुरु गर्न नसकिएको भए पनि मन्त्रालयको समन्वयपछि आवश्यक रकम सुनिश्चित भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ।
मन्त्रीले गरेको घोषणा
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले २७ साउनमा आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दै यसै वर्ष पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा सुरु गर्ने घोषणा गरेका थिए।
७५ प्रतिशत छात्रवृत्तिमा अध्ययनको अवसर
अब चिकित्सा आयोगले दुवै प्रतिष्ठानका लागि एमबीबीएस सिट निर्धारण गर्नेछ, जसमा ७५ प्रतिशत विद्यार्थीले सरकारी छात्रवृत्ति प्राप्त गर्नेछन्। सरकारी छात्रवृत्तिका लागि आवश्यक बजेट सुनिश्चित भएपछि एमबीबीएस अध्ययन अध्यापनको कार्य अघि बढ्न लागेको हो।