जाजरकोट - जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा पहिरो खस्दा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।
भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खसेर लालबहादुर परियार (४२), उनकी श्रीमती मनिसा विक (३५) र उनीहरूका दुई वर्षीय छोरा शुभम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता दिनेश तिमिल्सिनाले जानकारी दिएका छन्।
अस्थायी टहरोमा खसेको पहिरो
प्रहरीका अनुसार, पहिरोको जानकारी बिहान ७ः५० बजे आएको थियो। इन्सपेक्टर माधव प्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर बिहान ९ बजे तिर पहिरोले पुरिएका तीनैजनाको शव निकालिएको थियो। नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले उनीहरू भूकम्प पीडित भएको र स्थायी आवास निर्माण नभएकाले अस्थायी टहरोमा बस्दै आएको जानकारी दिए। घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै रहेको छ।