छोरीले आफ्नो बुबासँग जीवनको समस्याहरूको बारेमा गुनासो गरिन्। उनले भनिन्, ‘‘बुबा, मेरो जीवन एकदमै दुखी भइरहेको छ। म सँधै संघर्ष गर्दैछु, एउटा समस्या समाधान गर्छु, अर्को तुरुन्तै आइपुग्छ। म थाकिसके, अब कसरी अघि बढ्ने हो थाहा छैन।’’
बुबा एक कुशल शेफ थिए। छोरीको कुरा सुनेर उनी केहि बोलेनन्। उनले छोरीलाई भान्सामा लगे र त्यहाँ तीनवटा भाँडामा पानी भरे। अनि प्रत्येकलाई ठुलो आगो बलेको चुल्होमा राखे। पानी उम्लिन थालेपछि उनले पहिलो भाँडामा आलु, दोस्रोमा अण्डा, र तेस्रोमा कफी बिन्स राखे।
त्यसपछि उनले केही नबोली तिनीहरूलाई उम्लिन दिए। छोरीले चुपचाप हेरिरही। बुबा के गरिरहेका छन् भनेर उत्सुकताका साथ हेरिरही। बीस मिनेटपछि, बुबाले चुलहो बन्द गरे। उनले आलुहरू निकालेर एउटा प्लेटमा राखे, अनि अण्डाहरू अर्को प्लेटमा। अनि कफी निकालेर कपमा राखे।
त्यसपछि छोरीतर्फ फर्केर उनले सोधे, ‘‘छोरी, के देखिरहेकी छौ?’’
छोरीले फ्याट्ट जवाफ दिईन ‘‘आलु, अण्डा, र कफी।’’
बुबाले मुस्कुराउँदै भने, ‘‘नजिकबाट हेर। यी आलुहरूलाई छोउ।’’ छोरीले आलुहरू छामिन्। ती नरम भएका थिए।
बुबाले फेरि भने, ‘‘अब यो अण्डा उठाएर फुटाउ।’’ छोरीले अण्डा फुटाईन्। यसको भित्री भाग कडा भइसकेको थियो।
अन्त्यमा, बुबाले कफी पिउन भने। कफीको सुगन्धले छोरीको अनुहारमा मुस्कान ल्यायो।
तर छोरी अझै पनि अलमल्लमा थिई। उनले सोधिन्, ‘‘बुबा, यसको के अर्थ हो?’’
बुबाले गहिरो श्वास लिएर भने, ‘‘छोरी, यी आलु, अण्डा, र कफीले एउटै कठिनाइको सामना गरे– उम्लिरहेको पानी। तर तिनीहरूले यस कठिनाइलाई फरक तरिकाले सामना गरे।आलु बलियो, कडा र अडिग थियो। तर जब यसलाई उम्लिरहेको पानीमा राखियो, यसले आफ्नो कठोरता गुमायो र नरम बन्यो। अण्डा नाजुक थियो, बाहिरबाट खोलले सुरक्षित, तर भित्रबाट तरल। तर जब यसलाई उम्लिरहेको पानीमा राखियो, यस भित्रको भाग कडा बन्यो। तर कफी अनौठो थियो। यसलाई उम्लिरहेको पानीमा राख्दा, यसले पानीलाई परिवर्तन गर्यो र केही नयाँ सिर्जना गर्यो।’’
बुबाले अन्त्यमा सोधे, ‘‘जब जीवनमा कठिनाइहरूले तिमीलाई घेर्छ, तिमी कसरी प्रतिक्रिया गर्छौ? तिमी आलु हौ, अण्डा हौ, या कफीको दाना?’’
कथाको सारः जीवनमा हामीले जसरी परिस्थितिहरूलाई सामना गर्छौं, त्यो महत्वपूर्ण हुन्छ। कठिनाइहरूलाई कसरी सामना गर्ने भन्ने कुरा हामीभित्रैको शक्ति र सोचमा भर पर्छ।
आखिरमा, जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो भित्री प्रतिक्रिया हो।
तपाई चाँहि के हो ?