काठमाडौं - अफ्रिकी मुलुक कंगोमा तीव्र रूपमा फैलिएको एमपक्स (मंकीपक्स) भाइरसको नयाँ भेरिएन्ट ‘क्लेड १ बी’ अब नेपालमा पनि फैलिन सक्ने सम्भावना देखिएको छ।
स्वास्थ्य मन्त्रालयले नेपालमा पनि सतर्कता अपनाउन आग्रह गरेको छ, विशेष गरी गत वर्ष एक ६० वर्षीया विदेशी महिलामा एमपक्स पुष्टि भइसकेको हुँदा नेपालमा यो रोगको जोखिम रहेको जनाएको छ।
विश्वव्यापी संकट र नेपालमा सावधानी
२०२२ मा विश्वका ११२ भन्दा बढी देशमा फैलिएको एमपक्सको भेरिएन्टभन्दा अहिले फैलिएको ‘क्लेड १ बी’ भेरिएन्ट निकै संक्रामक र घातक मानिएको छ। पछिल्लो समय कंगो, युगान्डा, केन्यालगायत अफ्रिकी देशहरूमा फैलिएको यस भाइरस स्विडेन र पाकिस्तानमा पनि देखापरेको छ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. चुमनलाल दासले एमपक्स भाइरसलाई नेपालमा फैलिन नदिन निगरानी, नमुना परीक्षण, र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताए। उनले प्रभावित मुलुकबाट आएकाहरूलाई नाकाहरूमा विशेष निगरानी राख्न र शंकास्पद व्यक्तिहरूलाई कम्तीमा तीन सातासम्म स्वास्थ्य निगरानीमा राख्न सुझाव दिए।
स्वास्थ्य मन्त्रालयको तयारी र सुझाव
स्वास्थ्य मन्त्रालयले एमपक्स भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न सतर्कता अपनाउनुपर्ने बताएका छन्। यसका लागि हवाई तथा जमिनका नाकाहरूमा रहेका हेल्थ डेक्सहरूलाई सर्तकता गराइसकेको छ। साथै, यस रोगको निदान तथा व्यवस्थापन गर्न नेपालका विभिन्न अस्पताल र चिकित्सकलाई तोकिएको छ।
एमपक्स भाइरसको लक्षण र संक्रमणको जोखिम
एमपक्स भाइरसको प्रारम्भिक लक्षणहरू सामान्य ज्वरो, टाउको दुखाइ, मांसपेसी दुखाइ, जिउ काम्ने, र थकाइ लाग्ने जस्ता हुन्छन्। संक्रमणको क्रममा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, जुन पछि फोका बन्ने र पाप्रा लागेर उप्किने हुन्छ। यो संक्रमण श्वासप्रश्वासका साथै थुक, र्याल, र संक्रमित व्यक्तिको छालाको घाउ वा शरीरबाट निस्किने तरल पदार्थबाट सर्ने सम्भावना रहेको छ।
सुरक्षाका उपायहरू
यस भाइरसबाट बच्न संक्रमित व्यक्तिहरूसँग असुरक्षित सम्पर्कमा नजान, संक्रमितलाई आइसोलेसनमा राख्न, र पन्जा तथा साबुनपानीको नियमित प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ। साथै, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान, र भाँडाहरू तातो पानी र साबुनले धुनु जरुरी छ।
मंकीपक्सको इतिहास
एमपक्स भाइरस सन् १९५८ मा पहिलोपटक डेनमार्कमा बाँदरमा पाइएको थियो, जसका कारण यो भाइरसलाई मंकीपक्स नाम दिइएको हो। मान्छेमा भने पहिलो पटक सन् १९७० मा कंगोमा ९ महिने बालकमा यो संक्रमण पुष्टि भएको थियो। हालसम्म कंगोमा यो भाइरसका कारण ५४८ जनाको मृत्यु भइसकेको छ।