काठमाडौं - उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारले ‘स्टार्टअप’ व्यापारलाई अघि बढाउन सबै प्रकारको सहयोग गर्न तत्पर रहेको बताएका छन्।
स्टार्टअप नेसन २०३० कार्यक्रम
बुधबार काठमाडौंमा आयोजित ‘स्टार्टअप नेसन २०३०’ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सबै सिर्जनशील युवालाई स्टार्टअप व्यापारका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गरे। उनले युवालाई देशभित्रै भविष्य खोज्न र राष्ट्र निर्माणमा योगदान गर्न आह्वान गरे।
बजेटको सदुपयोग र अर्थतन्त्र सुधार
अर्थमन्त्री पौडेलले विनियोजित बजेटको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार सम्हालेपछि जनतामा आशा जागेको र अर्थतन्त्रमा रहेका समस्या समाधान गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना, र व्यापार घाटाको अन्त्य जस्ता गतिविधिबाट अर्थतन्त्र सबल बनाउने बताए।
स्टार्टअपका चुनौती र सम्भावना
अर्थमन्त्री पौडेलले स्टार्टअप व्यापारमा सुरुमा असफलता बढी हुने भए पनि आवश्यक कानुनी, संरचनागत प्रबन्ध मिलाएर अघि बढाउन सके सफल बनाउन सकिने धारणा राखे। आगामी दिनमा स्टार्टअप व्यापारले नयाँ उचाइ प्राप्त गर्नेमा उनले विश्वास व्यक्त गरे।