काठमाडौँ - विश्वभर लोकप्रिय फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा आफ्नो विशाल फलोअर्स संख्याका लागि प्रसिद्ध छन्। एक्समा ११२ मिलियन, फेसबुकमा १७० मिलियन, र इन्स्टाग्राममा ६३६ मिलियन फलोअर्स भएको रोनाल्डो बुधबार युट्युबमा पनि औपचारिक रूपमा जोडिएका छन्।
'यूआर क्रिस्टियानो' च्यानलको रेकर्ड ब्रेकिङ सुरुआत
रोनाल्डोले युट्युबमा 'यूआर क्रिस्टियानो' नामक च्यानल सुरु गरेका छन्, जसले युट्युबमा नयाँ कीर्तिमान कायम गरेको छ। च्यानल सुरु गरेपछि ९० मिनेटभित्रै उनले १० लाखभन्दा बढी सब्सक्राइबर प्राप्त गरे, जसले उनलाई युट्युबमा सबैभन्दा छिटो १ लाख सब्सक्राइबर पुर्याउने पहिलो व्यक्ति बनायो। ४ घण्टाभित्रै उनका सब्सक्राइबर ५० लाख नाघेका थिए।
१ करोड २७ लाख सब्सक्राइबर र डायमन्ड बटन
रोनाल्डोको च्यानल सुरु भएको १५ घण्टामै उनीसँग १ करोड २७ लाखभन्दा बढी सब्सक्राइबर पुगेका छन्, जसले उनलाई युट्युबको डायमन्ड बटनको लागि योग्य बनाएको छ। उनले १० लाख सब्सक्राइबर पुगेपछि पाउने गोल्डेन बटनसमेत पाइसकेका छन्। हालसम्म उनको च्यानलमा १९ वटा विभिन्न भिडियो अपलोड भएका छन्, जसले लाखौँ भ्युज पाइसकेका छन्।
साउदी प्रोलिगमा सक्रिय
रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रोनाल्डो हाल साउदी प्रोलिगमा अल नासरका लागि खेलिरहेका छन्। उनी आबद्ध अल नासरले बिहीबार अल राइदसँग प्रतिस्पर्धा गर्दैछ।